एजेन्सी, ६ कार्तिक-प्रिमियर लिग क्लब टोटनहमले अस्ट्रियन बुन्डेस लिगा क्लब लास्कसँग खेल्दै छ । खेल नेपाली समयअनुसार राति १२ः४५ बजे सुरु हुनेछ ।
युरोपा लिग फुटबलको समूह जेमा रहेका यी दुवै टोलीले समूहको पहिलो खेल खेल्दै छन् । यी दुई टोलीले टोटनहमको घरेलु मैदान टोटनहम हटस्पर स्टेडियममा खेल्दै लिगको समूह चरणको सुरुवात गर्नेछन् ।
प्रिमियर लिगमा राम्रो प्रदर्शन गरिरहेको टोटनहम यस खेलमा पनि लास्कलाई पराजित गर्न चाहन्छ । पछिल्लो प्रिमियर लिगमा टोटनहमले वेस्टहामसँग बराबरी खेलेको थियो ।
खेलको अन्तिम ७ मिनेट सम्हालिन नसक्दा टोटनहमले वेस्टहामसँग ३-३ को बराबरी खेलेको थियो । तर, युरोपा लिगमा भने टोटनहम लास्कलाई पराजित गर्दै समूह चरणमा सुखद सुरुवात गर्न चाहन्छ ।
यता लास्क पनि उसैको घरेलु मैदानमा टोटनहमलाई पराजित गर्दै समूहमा पहिलो जित निकाल्न चाहन्छ । सोही समूहको अर्को खेलमा लुडोगोरेट्स राजग्राड र रोयल एन्टवेर्पले खेल्दै छन् ।
खेल लुडोगोरेट्स घरेलु मैदानमा नेपाली समयअनुसार राति २-४५ बजे सुरु हुनेछ ।
