धरान, ८ कार्तिक–सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित पाँच महिनाको शिशुसहित दुई जनाको ज्यान गएको छ ।
मोरङ, सुन्दर हरैंचाका शिशुको प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको हो ।
प्रतिष्ठानका सहप्रवक्ता डा। आशिष श्रेष्ठका अनुसार उनलाई शुक्रबार नै संक्रमण पुष्टि भएको थियो । पाँच महिने छोरीलाई दिमागसम्बन्धी रोगको समस्या भएको थियो । यस्तै शुक्रबार अपराह्न धरान–११ की ५२ वर्षीया एक महिलाको पनि प्रतिष्ठानमै उपचारका क्रममा मृत्यु भएको थियो ।
उनलाई उच्च रक्तचाप र मधुमेह जस्ता दीर्घ रोग भएको बताइएको छ । उनलाई यही कात्तिक ३ गते कोरोना संक्रमण पुष्टि भई ५ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।
