काठमाडौं, ९ कार्तिक–चेन्नई सुपर किङ्सले जारी सिजनको आईपीएलमा चौथो जित निकालेको छ । आइतबार भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ८ विकेटले पराजित गर्दै सिजनको चौथो जित निकालेको हो ।
बैंगलोरले दिएको १४६ रनको लक्ष्य पछ्याएको चन्नइले १८।४ ओभरमा मात्र २ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो । चेन्नइको जितका लागि तुराज गैकवाडले अर्धशतकीय पारी खेले । उनले ५१ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ६५ रनको अविजित अर्धशतकीय पारी खेलेका हुन् ।
त्यस्तै अम्बाती रायडुले ३९ रनको योगदान दिए । उनले २७ बलको सामना गर्दै तीन चौका र दुई छक्का प्रहार गर्दै ३९ रन जोडेका हुन् । १३ बल खेलेका फाफ डु प्लेसिसले समान दुई चौका र छक्काको मद्दतमा २५ रनको योगदान दिए ।
कप्तान महेन्द्र सिंह धोनी १९ रनमा अविजित रहे । उनले २१ बलमा ३ चौका प्रहार गर्दै १९ रनमा अविजित रहेका हुन् । बैंगलोरका लागि क्रिस मोरिस र युजभेन्द्र चहालले एक एक विकेट लिए ।
यसअघि कप्तान विराट कोहलीको अर्धशकतको सहयोगमा बैंगलोरले १४५ रन जोडेको थियो । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको बैंगलोरले चेन्नइले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४५ रन जोडेको हो ।
कप्तान कोहली र एबी डी भिलियर्सले ८२ रनको साझेदारी गरेका थिए । कप्तान कोहलीले ५० रनको अर्धशतकीय पारी खेलेका हुन् । उनले ४३ बलमा एक चौका र एक छक्का प्रहार गर्दै ५० रनको अर्धशतकीय पारी खेलेका हुन् । उनी कुरानको बलमा डुप्लेसिसको हातबाट क्याच आउट भएका हुन् ।
यता डी भिलियर्स १८औं ओभरको तेस्रो बलमा दीपक चहारको बलमा डुप्लेसिसको हातबाट क्याच आउट हुन पुगे । उनले ३६ बलमा ४ चौका प्रहार गर्दै ३९ रनको योगदान दिएका थिए । त्यसपछि मैदान आएका मोइन अली एक, क्रिस मोरिस दुई रनमा पेभिलिय फर्किए ।
त्यस्तै, ओपनर ब्याट्सम्यान देभदत्त पाडिकलले २२ रन जोडे । उनले २१ बलमा दुई चौका र एक छक्का प्रहार गर्दै २२ रनको योगदान दिएका हुन् । अर्का ओपनर ब्याट्सम्यान आरोन फिन्चले ११ बल खेल्दै ३ चौकाको मद्दतमा १५ रन जोडे ।
चेन्नइका लागि साम कुरानले तीन विकेट लिए । त्यस्तै, दीपक चहारले दुई तथा मिचेल सान्टनरले एक विकेट लिए । यस जितसँगै चेन्नइले आईपीएलमा १२ खेल खेल्दै चार जित निकालेको छ । ८ खेल गुमाएको चेन्नइको ८ अंक छ । ११ खेलमा सात खेल जितेको बैंगलोर १४ अंकसहित तेस्रो स्थानमा छ ।
