काठमाडौं, १० कार्तिक–इटालियन सिरी ए फुटबलमा युभेन्टस् बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा युभेन्टस् भेरोनासँग १(१ को बराबरीमा रोकिएको हो ।
युभेन्टसको घरेलु मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा गोल भए पनि दुवै टोलीबाट एक-एक गोल हुँदा दुवैले अंक बाँडेका हुन् ।
युभेन्टस् स्टेडियममा भएको खेलमा पाहुना टोली भेरोनाले सुरुवाती अग्रता लिएको थियो । खेलको ६० मिनेटमा आन्द्रेअ फाभिलीले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । उनले माटिया जाकाग्नीको पासमा गोल गर्दै भेरोनालाई अग्रता दिलाएका थिए ।
तर, खेलको ७७औं मिनेटमा खेल घरेलु टोलीले गोल गर्दै खेल बराबरीमा आयो । युभेन्टस्का लागि डेजान कुलुसेस्कीले गोल गर्दै खेल बराबरीमा ल्याएका हुन् । उनले अल्भारो मोराटाको पासमा गोल गरेका थिए ।
यस बराबरीसँगै पाँच खेल खेलेको युभेन्टस्ले दुई खेलमा जित र तीन खेलमा बराबरी खेल्दै ९ अंक जोडेर तालिकाको पाँचौं स्थानमा छ । समान खेल खेलेको भेरोना सात अंकसहित आठौं स्थानमा छ ।
