धरमपुर, ११ कार्तिक–झापाको धरमपुरमा सोमबार साँझ नाम नम्बर (पहिचान) नखुलेको सवारी दुर्घटनाको ठक्करबाट माइला भनेर परिचित दलबहादुर चेम्जोङ (५०) को मृत्यू भएको छ । झण्डै दुई दशकदेखी गाउँ–गाउँमा पत्रिका बिक्री गरेर जीवन निर्वाह गरिरहेका शारिरिक अशक्त माइलाको धरमपुर चौक पश्चिम राजमार्गमा सवारी साधनको ठक्करले मृत्यू भएको हो ।
इलाका प्रहरी कार्यालय झिलझिलेका अनुसार सोमबार साँझ ७ बजे शिबसताक्षी नगरपालिका वडा नं १ धरमपुरस्थिल पूर्वपश्चिम लोकमार्ग अन्तर्गत धरमपुर–कमल खोलाकोबीचमा सवारी साधनको ठक्करले घाइते अवस्थामा बिर्तामोडको एक अस्पतालमा लगिएको थियो ।
माइलाको सोही अस्पतालमा मृत्यू भएको प्रहरीले जानकारी दिएको छ ।प्रहरीले घट्नास्थलमा बुलेट मोटरसाइलकमा प्रयोग गरिने पार्टसहरु भेटिएको र माइलालाई ठक्कर दिने सवारी साधन बुलेट मोटरसाइलनै हुन सक्ने आशंका गरेको छ ।
प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ आइरहेको सवारी साधनले ठक्कर दिदा उनको ज्यान गएको हो । दशैंको समयमा सडकमा सवारी साधनको चापसँगै अत्याधिक तीब्र गतिमा सवारी साधन चलाएको कारण दुर्घटना भएको प्रहरीले बताए ।
उनी प्रष्ट बोल्न सक्दैनथे भने उनको कानमा समस्या थियो । शारिरिक रुपमा उनी अशक्त हुन् । उनको खुट्टामा समस्या थियो । उनी हिड्न मुस्किलले मात्रै सक्थे । माइलाको धरमपुरमा दाजु र भाउजुसहित परिवार रहेको स्थानीयले जनाएका छन् ।
लामो समय धरानबाट प्रकाशित ब्लाष्ट दैनिक धरमपुरको गाउँगाउँमा बिक्री गर्ने उनको नामै ब्लाष्ट माइलाले प्रख्यात भएको स्थानीय बुद्धिजिवी चन्द्रबीर नेम्बाङले बताए । उनको नाम र काम पनि ब्लाष्ट नै थियो । ब्लाष्ट पछि माइलाले धरानबाटै प्रकाशित औजार दैनिक गाउँगाउँमा बिक्री गरेका स्थानीयहरु बताउँछन् ।
उनी आपाङ्ग भएर पनि कहिल्यै मागि नखाने स्थानीय नेत्र नेम्बाङले बताए । उनका अनुसार माइला शारिरिक रुपमा अशक्त भएरै पनि धरमपुरबाट दक्षिणी ग्रामिण क्षेत्र शुक्रबारे, पाराबारी, मंगलबारे, डुडामारी, फाक्तेमसम्म पत्रिका बोकेर हिड्ने गर्थे । सोही पत्रिका बिक्री गरेर पाएको पैसाले उनी खाना, खाजा र चिया खान्थे, नेम्बाङले भने ।
यता, माइलाको पोष्र्टमार्टम गरी मंगलबारै अपरान्ह डुडामारीस्थित रतुवामाई बृक्षारोपण आयोजनाको समाधिस्थलमा अन्तिम संस्कार गरिएको छ ।
