काठमाडौं, १४ कार्तिक–मौसम परिवर्तनको बेला अहिले काठमाडौंसहित मुलुकभर कैयौँ व्यक्तिमा रुघा लाग्ने, ज्वरो आउने र खोकीको लक्षण देखिएका छन् । यसलाई कतिपयले सामान्य ज्वरो, रुघा र मौसम परिवर्तनको कारण माने पनि चिकित्सकहरुले भने तत्काल पीसीआर गर्न सुझाव दिएका छन् ।

पीसीआर नगरि आफुखुसी विभिन्न औषधि प्रयोग गर्दा पछि झनै जोखिम हुन सक्नेहुँदा तत्काल पीसीआर परीक्षण गर्न सुझाव दिएका छन् ।

डा अनुप सुवेदीले सामाजिक सञ्जाल ट्विटरमार्फत ज्वरो, खोकी, अरु बेलाभन्दा बढी टाउको दुख्ने, जिउ गल्नेलगायतका समस्या देखिएको भए तत्काल पीसीआर परीक्षण गर्न सुझाव दिएका छन् ।

“कोभिडका जस्ता लक्षण (ज्वरो, खोकी, अरु बेलाभन्दा फरक–बढी–टाउको–जिउ दुख्ने वा जिउ गल्ने–कमजोर हुने, गन्ध वा स्वाद हराउने, पखाला चल्ने) देखिनेबित्तिकै पीसीआर परीक्षण गराइहाल्नु अत्यन्त जरुरी छ है,” उनले लेखेका छन्, “कारणहरु-यदि सिकिस्त भइयो भने तुरुन्त सही उपचार सुरू गर्न पाइन्छ, र अनावश्यक सम्भवतः हानिकारक उपचार (जस्तै एन्टिबायोटिक्स, १० थरी भिटामिन आदि) पनि गर्नुपर्दैन ।

लक्षण सुरु भएको ८–९ दिनमा अक्सिजन कम भएर सिकिस्त भएर अस्पताल आइपुग्दा पीसीआर पहिल्यै नगरेको हुनाले फेरि पीसीआर पठाएर नतिजालाई थप १–२ दिन कुर्दाकुर्दै झन् सिकिस्त भएर भेन्टिलेटर चाहिएको धेरै देखिसकियो । कोभिडमा ज्वरो, जिउ दुख्ने, घाँटी दुख्नेजस्ता लक्षण सुरुका केही दिनपछि धेरैमा हराउँछन् वा मत्थर हुन्छन्, अनि दोस्रो हप्तातिर एक्कासी ज्वरो, स्वाँ स्वाँ बढ्ने, अक्सिजन चाहिने हुन्छ ।

प्रायः बिरामीले १–२ दिन देखिएर लक्षण हराएपछि वास्ता गर्न छोड्छन्, पीसीआर गर्न आवश्यक ठान्दैनन् । तर जाँच गर्दा रोगको पहिचान हुने सम्भावना भने लक्षण सुरु भएको बेलातिर सबैभन्दा बढी हुन्छ, केही दिनमै पीसीआर पहिचान गर्ने क्षमता धेरै घट्छ । झन् दोस्रो हप्तामा सिकिस्त भइसकेपछि परीक्षण गर्दा पोजेटिभ देखिने सम्भावना धेरै कम हुन्छ । र सही उपचार नपाउने, गलत उपचार पाउने सम्भावना पनि बढ्छ । मानौं, तपाईँ अस्पतालमा अक्सिजन चाहिने अवस्थामा पुग्नुभयो, तर पीसीआर भएको छैन ।

कोभिडको पुष्टि भइसकेकालाई अरु कोभिडका बिरामीसँगै एउटै वार्ड वा कोठामा राख्न मिल्छ । तर कोभिडको शंका मात्र भएका तर पुष्टि नभएकालाई सँगै राख्न मिल्दैन, छुट्टै कोठामा एक्लै राख्नुपर्छ नत्र सँगै राखिएका एकलाई कोभिड रहेछ र अरुलाई रहेनछ भने अरुलाई पनि सर्ने खतरा हुनेभो । त्यसैले तपाइँलाई भर्ना गर्न एक्लै छुट्टै कोठा लिनुप¥यो जुन अचेल एकदम दुर्लभ छ ।

कोभिड वार्डमा जति बेड खालि भए पनि तपाइँलाई राख्न मिलेन । त्यसैले कोभिडको लक्षण देखिनेले कम्तिमा पीसीआर चाँडो गरिहाल्नु जरुरी छ है ।”

उनले त्यस्ता संकेत देखिए पीसीआर गरेर रिपोर्ट नआउँदासम्म छुट्टै बस्न पनि आग्रह गरेका छन् ।

“माथि छुटेको अनि चाँडो नतिजा थाहा पाउँदा आफ्ना परिवारका मान्छे र अरु सम्पर्कमा आएकालाई जोगाउन पनि उति नै सम्भव हुने भयो । पीसीआर गर्ने, छुट्टै बस्ने, दुखाइलाई सिटामोल आदि कुनै औषधि खाने,” उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *