दमक, १४ कार्तिक–झापाको बुद्धशान्ति गाउँपालिकाको वडा नम्बर ५ पाँचपोखरी सामुदायिक वन परिसरमा शुक्रबार दिउँसो मत्ता हात्ती मृत भेटिएको छ। जिल्ला वन कार्यालय झापाका रेन्जर कुलप्रसाद भट्टराईले हात्ती मृत भेटिएको पुष्टि गरे।
स्थानीयका अनुसार हात्तीको शरीरका केही भागमा गम्भीर चोट लागेको छ। स्थानीय एक प्रत्यक्षदर्शीका अनुसार भालाले रोपेजस्तो गहिरो चोट छ।
जिल्ला वन कार्यालय झापाको प्राविधिकसहित स्थानीय जनप्रतिनिधिले हात्ती मारिएको विषयमा अनविज्ञता जनाए।
उनीहरूले भने, ‘पोष्टमार्टम गरिएको छ रिपोर्ट आएपछि मात्र मारिएको हो या मरेको हो भन्नेबारेमा बोल्न सकिन्छ।’
हात्ती केही दिनअघि नै मरेको हुन सक्ने जिल्ला वन कार्यालय झापाले जनाएको छ।
‘कीरा परेको आधारमा हात्ती कम्तिमा ४ दिन अघि मरेको हुनुपर्छ,’ रेन्जर भट्टराईले भने।
‘जंगलमा हात्ती मार्ने आँट कसैले पनि गर्न सक्दैन,’ बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेश भुजेलले भने, ‘मारिएको होइन मरेको हो। मारेको भए हात्तीका महत्वपूर्ण बहुमूल्य अङ्ग सुरक्षित हुन सक्दैन थिए।’ तर हात्तीको दारा र पुछरको रौं गायव गरिएको छ । गायव गरिएका महत्वपुण अंगको खोजी हुने जिल्ला बन कार्यालय ले जनाएको छ ।
झापाका जंगलमा यसअघि बिरामी अवस्थामा देखिएको हात्ती नै पाँचपोखरी सामुदायिक वनमा मरेको हुन सक्ने जिल्ला वन कार्यालय झापाले बताएको छ।
दुई साताअघि बाहुण्डाँगी क्षेत्रमा चितवनबाट आएको प्राविधिक टोलीले उक्त हात्तीको उपचार गरेको थियो।
करिब ४० वर्षको जस्तो देखिने उक्त हात्तीको एउटा आँखा फुटेको थियो भने अर्को आँखा राम्रो संग देख्न नसक्ने पशु प्राविधिकले बताएका थिए।
जिल्ला वनको प्राविधिक टोलीले सुँड, खुर, लगायतका अन्य आवश्यक अङ्ग चितवनस्थित वन्यजन्तु प्रयोगशालामा पठाउन सुरक्षित गरेको छ।
