धरमपुर, १४ कार्तिक–कोरोना संक्रमणका कारण झापाको शिवसताक्षी नगरपालिकाको धरमपुरस्थित एकै परिवारका दुई दाजुभाईको मृत्यु भएको छ ।

शिवसताक्षी नगरपालिका–२ का चूडामणि भट्टराईका दुई छोरा दताराम र योगेश्वरको मृत्यु भएको हो । भट्टराई परिवारका जेठा छोरा ३८ वर्षीय दयाराम र कान्छा छोरा ३० वर्षीय योगेश्वरको कोरोना संक्रमणका कारण चार महिनाको अन्तरमा मृत्यु भएको हो ।

दयारामको शुक्रबार बिहान विराटनगरको नोबेल मेडिकल कलेजमा मृत्यु भएको हो । योगेश्वरको भने ४ महिना अगाडि कतारमा मृत्यु भएको परिवारले जनाएको छ । कार्तिक १२ कोरोना पोजेटिभ देखिएका दयाराममा निमोनिया देखिएको र सोही कारण मृत्यु भएको अस्पतालले जनाएको छ। उनमा कुनै दीर्घरोगको समस्या नरहेको भाइ रबिनले जानकारी दिए ।

झापाको दमकमा व्यवसाय गर्दै आएका दयारामको स्वास्थ्यमा सामान्य समस्या देखिएपछि १२ कात्तिकमा नोबेलमा भर्ना गरिएको थियो । सोही दिन उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारका क्रममा शुक्रबार बिहान करिब ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

दयाराम कान्छा भाइ योगेश्वरको गत असार १५ गते वैदेशिक रोजगारीका क्रममा कतारमा मृत्यु भएको थियो । दुई वर्षअघि वैदेशिक रोजगारीका लागि कतार पुगेका उनको कोरोना संक्रमणका कारण मृत्यु भएपछि कतारमै अन्त्यष्टि भएको थियो । बाबु चुडामणिको २०७६ असार २७ गते मृत्यु भएको थियो ।

दुई छोराको मृत्युपछि उनको वार्षिक तिथिको काम पनि रोकिएको छ । कान्छा छोराको मृत्यपछि यस अघिको वार्षिक तिथीलाई शनिबारका लागि सारिएकोमा शुक्रबार नै उपचारका क्रममा दयारामको मृत्यु भएको हो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *