बेइजिङ, १४ कार्तिक –चिनियाँ नेताहरूले उच्चस्तरको प्रविधिका क्षेत्रमा आत्मनिर्भर हुने गरी नयाँ पञ्चवर्षीय योजना अघि सारेका छन् । पछिल्लो समय अमेरिकी कम्प्युटर चिप्सहरू र अन्य उच्च–प्रविधिका अवयवहरूको पहुँचमा अमेरिकाले बाधा उत्पन्न गरेपछि चीनले नयाँ महत्वाकांक्षी योजना सार्वजनिक गरेको हो ।

सत्तारुढ कम्युनिष्ट पार्टीका नेताहरूले नयाँ पञ्चवर्षीय योजनाको मस्यौदा बिहीबार बेइजिङमा सार्वजनिक गर्दै यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

राष्ट्रपति सी जिनपिङको नेतृत्वको चीनले ट्रम्प प्रशासनले अमेरिकी प्रविधि बिक्रीमा लगाएको प्रतिबन्धबाट सिर्जित क्षतिलाई सीमित गर्ने प्रयास गरिरहेको छ । अमेरिकाले खासगरी सुरक्षा र जासुसीको आरोप लगाउँदै चिनियाँ प्रविधि कम्पनीहरुलाई एकपछि अर्को आदेशद्वारा अमेरिकी चिप्सहरु बिक्री गर्न रोकिराखेको छ ।

चिनियाँ कम्पनीहरुले टेलिकम, बायोटेक र अन्य क्षेत्रमा प्रतिस्पर्धा गर्न थालेपछि अमेरिकाले नयाँ रणनीति अपनाउन थालेको चिनियाँ नेताहरुको बुझाई छ । चिनियाँ कम्युनिष्ट पार्टीद्वारा प्रकाशित विज्ञप्तिमा ‘विज्ञान र प्रविधि राष्ट्रिय विकासको लागि रणनीतिक महत्वका भएकाले यो क्षेत्र आत्मनिर्भर हुनु पर्दछ’ भनिएको छ ।

विज्ञान र प्रविधिमाथिको सामथ्र्य निर्माणका कार्यलाई द्रुत गतिमा अघि बढ्नुपर्ने विज्ञप्तिमा उल्लेख छ तर यसबारे विस्तृत विवरण दिइएको छैन ।

चीनमा सन् १९५० को दशकदेखि पञ्चवर्षीय योजना लागू छ । चार दशकयता खुला बजार र आर्थिक उदारीकरणको नीति अंगालेको चीनले पञ्चवर्षीय योजनाका आधारमा देशको समग्र आर्थिक, सामाजिक तथा पूर्वाधार विकासलाई सम्बोधन गर्ने गरेको छ जसमा चिनियाँ कम्युनिष्ट पार्टीको भूमिका प्रमुख रुपमा रहने गरेको छ ।

योजनाको पूर्ण विवरण अर्को वर्षको मार्चमा सार्वजनिक गरिनेछ । नियमहरुमा संशोधन तथा उद्योगहरुका लागि नयाँ योजना त्यसपछि अगाडि सारिने बताइएको छ ।

बिहीबार सार्वजनिक वक्तव्यमा ‘हरित र कम कार्बनयुक्त विकास’ लाई बढावा दिइने तथा चिनियाँको जीवनस्तर माथि लैजाने वाचा गरिएको छ । साथै वक्तव्यमा २३ लाख सैनिकलाई थप सुदृढ र सुसज्जित गरी ‘राष्ट्रिय सार्वभौमिकताको रक्षा गर्न’ सक्षम तुल्याइने उल्लेख छ ।

चीनले हाल एक ‘जटिल अन्तर्राष्ट्रिय परिस्थितिको सामना गरिरहेको छ’, वक्तव्यमा भनिएको छ, तर कोरोना भाइरस महामारी वा अमेरिकासँगको कर युद्धका बारेमा कुनै उल्लेख गरिएको छैन ।

चीनका कारखानाहरूले विश्वको अधिकांश स्मार्टफोन, पर्सनल कम्प्युटर र दैनिक उपभोग्य इलेक्ट्रोनिक्स उत्पादन गर्दछन्, तर त्यसका लागि अमेरिकी, युरोपियन र जापानी सामान जरुरी हुन्छ । चिनियाँ कम्युनिष्ट नेताहरूले यी वस्तुको उत्पादनमा विदेशीसँगको परनिर्भरतालाई रणनीतिक कमजोरीको रूपमा हेर्छन् ।

बिहीबारको वक्तव्यमा कुनै खास प्रविधिका बारेमा उल्लेख छैन, तर नेताहरूले विशेष गरी चीनमा उत्पादित स्मार्टफोन, इलेक्ट्रिक कारहरू र अन्य प्रविधिमा प्रयोग गरिने प्रसेसर चिप्सहरुका लागि अमेरिकासँग निर्भर रहनु परेकामा चिन्ता व्यक्त गरेका छन् ।

चीनले मूल्यका आधारमा हाल कच्चा तेलको भन्दा बढी मूल्यको सेमीकन्डक्टर आयात गर्दछ । टेलिकम उपकरण निर्माता हुवावे टेक्नोलोजिजले अहिले चिप्स र अन्य उपकरण निर्माण गर्न थालिसकेको छ । तर, यसले आफ्ना सबै आवश्यकता पूर्ति गर्न सक्दैन ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ मा चिनियाँ कम्पनीमाथि दबाब बढाएसँगै चिनियाँहरुले प्रसेसर चिप्स र प्रविधि विकासतर्फ ध्यान दिन थालेका हुन् । गत वर्ष, ह्वाइट हाउसले चिनियाँ चिप्स र अन्य सामानको आयातमा समेत कडा नियन्त्रण घोषणा गरेको थियो ।

२३ लाख सैनिकलाई थप सुदृढ र सुसज्जित गर्नेसम्मका १२ निर्णय
१४ औँ पञ्चवर्षीय योजनाका केही लक्ष्य भेट्न सीपीसीको सम्पूर्ण नेतृत्वलाई परिचालित गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यस्ता छन् सीपीसीले गरेका निर्णयको १२ महत्वपूर्ण बुँदाः

१) आधुनिक औद्योगिक प्रणाली निर्माण गर्दै आर्थिक संरचनालाई अध्यावधिक गर्ने। यसले निरन्तर रुपमा यथार्थ अर्थतन्त्रलाई सहयोग गर्ने उत्पादकत्व क्षमतालाई सुधार गर्ने र औद्योगिक व्यवस्थालाई आधुनिकीकरण गर्दै आपूर्ति शृङ्खलालाई उच्चगुणस्तर र प्रतिस्पर्धी बनाउने ।
२) चीनको आन्तरिक बजारलाई सशक्त बनाउँदै नयाँ विकास प्यार्टन स्थापना गर्ने । आन्तरिक वितरणलाई स्थिर बनाउँदै अन्तर्राष्ट्रिय वितरण र उपभोगलाई विस्तार गर्ने ।
३) सुधारलाई गहन बनाउँदै उच्चस्तरीय समाजवादी बजार अर्थतन्त्रलाई अझै विकास गर्ने ।
४) ग्रामीण क्षेत्रको विकास र कृषि विकासलाई उच्च प्राथमिकता दिँदै सशक्त बनाउने ।
५) अध्याधुनिक नयाँ सहरीकरणको विकास गर्ने ।
६) सांस्कृतिक क्षेत्रको प्रवर्द्धन गर्दै सांस्कृतिक ुसफ्टपावरुसुधार गर्ने ।
७) वातावरण मैत्री विकास गर्ने। वातावरण सुधार तथा गुणस्तरीय एवं दीर्घकालीन इकोसिस्टमका लागि हरित र कम कार्बनको विकास गर्ने ।
८) उच्चस्तरीय खुलापनसँगै साझा हित र साझा जितका सहकार्य अगाडि बढाउने ।
९) विशेष गरी वृद्ध अवस्थामा पुगेका नागरिकको जीवन सुधार गर्नका लागि नीतिहरुलाई सक्रियताका साथ लागू गर्ने ।
१०) राष्ट्रिय सुरक्षा क्षमतालाई बढाउने। परम्परागत तथा गैरपरम्परागत सुरक्षाका चुनौतिबाट नागरिकलाई जोगाउँदै सद्भावपूर्ण स्थिर समाज कायम गर्ने ।
११) हङकङ तथा मकाउको दीर्घकाली समृद्धि र स्थिरता कायम राख्ने र ताइवानको शान्तिपूर्ण पुनर्एकीकरणको प्रवर्द्धन गर्ने ।
१२) १४ औँ पञ्चवर्षीय योजनाभित्रै स्थिर बाह्य वातावरण बनाएर अन्तर्राष्ट्रिय सम्बन्धलाई मानव भाग्य समुदायका साझा भविष्यमा समाहित गराउने । एपी

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *