काठमाडौं, १६ कार्तिक–इन्टर मिलान इटालियन सिरी ए फुटबलमा पर्मासँग बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा मिलान पर्मासँग २-२ को बराबरीमा रोकिएको हो ।
मिलानको घरेलु मैदानमा भएको खेलमा सुरुवाती अग्रता भने पर्माले लिएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा पर्माले अग्रता लिएको थियो । दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमै पर्माका गार्भिन्होले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए ।
६२औं मिनेटमा गार्भिन्होले व्यक्तिगत दोस्रो गोल गरे । उनले इङ्लेसेको पासमा गोल गर्दै पर्माको अग्रता दोब्बर पारेका थिए । तर, त्यसको दुई मिनेट नबित्दै मिलानले गोल फर्कायो । ६४औं मिनेटमा मार्सेलो ब्रोजोभिचले बरेलाको पासमा गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।
खेलको इन्ज्युरी समयमा इभान पेरिसिचले गोल गर्दै खेल बराबरीमा ल्याए । उनले कोरलारोभको पासमा गोल गर्दै खेल २(२ को बराबरीमा ल्याएका हुन् ।
यो बराबरीसँगै मिलानले ६ खेलबाट तीन खेलका जित, दुई बराबरी र एक खेलमा हार गरी ११ अंक जोडेर तालिकाको पाँचौं स्थान आफूलाई राखेको छ । समान खेल खेलेको पर्माको पाँच अंक छ ।
