काठमाडौं, १६ कार्तिक–प्रिमियर लिग फुटबलमा एस्टन भिल्ला साउटथह्यामटनसँग पराजित भएको छ । आइतबार साँझ भएको खेलमा एस्टन भिल्ला साउटथह्यामटनसँग ४–३ गोलले पराजित भएको हो ।
एस्टन भिल्लाको घरेलु मैदानमा भएको खेलमा साउटथह्यामटनको जितका लागि जेम्स वार्ड प्रोवसेले दुई गोल गरे । त्यस्तै यनिक भेस्टर गार्ड र डानी इङ्सले एक एक गोल गरे । घरेलु टोलीका लागि टिरोने मिङ्स, ओलिए वाट्किन्स र ज्याक ग्रेएलिसले एक एक गोल फर्काएका थिए ।
खेलको २० औं मिनेटमा यनिकले गोल गर्दै साउटथह्यामटनलाई अग्रता दिलाएका गिए । ३३ औं मिनेटमा जेम्सले गोल गर्दा साउटथह्यामटन २–० ले अगाडी बढ्यो । पहिलो हाफमा अन्तिम मिनेटमा जेम्सले व्यक्तिगत दोस्रो गोल गर्दै एस्टन भिल्ला पहिलो हापफमा ३–० ले पछि परेको थियो ।
५८ औं मिनेटमा इङ्सले गोल गर्दै साउटथह्यामटनलाई ४–० ले अगाडी बढाएका थिए । तर, त्यसपछि एस्टन भिल्लाले तीन गोल फर्काएको थियो । ६२ औं मिनेटमा मिङ्सले गोल गर्दै खेल ४–१ को स्थितीमा ल्याएका थिए । खेलको इन्जुरी समयमा एस्टन भिल्लाले थप दुई गोल फर्कायो । इन्जुरी समयमा ओलिएले पेनाल्टीमा गोल गरेका थिए ।
त्यस्तै ज्याकले इन्जुरी समयको अन्तिम मिनेटमा गोल गर्दै खेल ४–३ को स्थितिमा ल्याएका थिए । तर, थप गोल गर्न नसक्दा टोलीलाई हारबाट जोगाउन सकेनन् ।
यस जितसँगै साउटथह्यामटनले सात खेल खेल्दा चार खेलमा जित, एक बराबरी र दुई खेलमा हार व्यहोर्दै १३ अंक जोडेको छ । पराजित एस्टन भिल्लाले भने ६ खेलबाट १२ अंक जोडेको छ ।
