काठमाडौं, १७ कार्तिक–प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ । आइतबार राति भएको खेलमा युनाइटेड १-० गोलको झिनो अन्तरले आर्सनलसँग पराजित भएको हो ।
युनाइटेडको घरेलु मैदानमा भएको खेलमा आर्सनललाई जित दिलाउन खेलको एकमात्र निर्णायक गोल पिएरे एमरिक अउबुमाङले गरेका हुन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा उनले पेनाल्टीमार्फत गोल गर्दै पाहुना टोली आर्सनललाई जित दिलाएका हुन् ।
विलियनले अगाडि बढाएको बलमा युनाइटेडका मिडफिल्डर पउल पोग्वाले पेनाल्टी क्षेत्रमा ट्याकल गरेपछि रेफ्रीले आर्सनललाई पेनाल्टी दिएका थिए । उक्त पेनाल्टीमा अउबुमाङले गोल गरेका हुन् । उनको गोलसँगै आर्सनलले युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा १४ वर्षपछि जित निकालेको हो । यसअघि सेप्टेम्बर २००६ मा भएको प्रिमियर लिग फुटबलमा आर्सनलले युनाइटेडलाई उसैको घरेलु मैदानमा पराजित गरेको थियो ।
यस जितसँगै आर्सनलले सात खेल खेल्दै चार खेलका जित निकालेको छ । तीन खेल हारेको आर्सनलको ११ अंक छ । यस्तै पराजित युनाइटेडले भने ६ खेलका दुई खेलमा जित, एक बराबरी र तीन खेलमा हारसहित ७ अंक जोडेको छ ।
