काठमाडौं, १७ कार्तिक–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको शीर्ष नेताहरूको बैठक दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने भएको छ।

संस्थापन इतर समूहले सभापति शेरबहादुर देउवाविरुद्ध दर्ता गरेको विरोध पत्रबारे छलफल गर्न देउवाले आज वर्तमान पदाधिकारी तथा पूर्व पदाधिकारीहरूलाई बोलाएका हुन्।

आजको बैठकमा गत असोज १२ गते वरिष्ठ नेता रामचन्द्र पौडेलसहित​ महामन्त्री डा। शशांक कोइराला लगायत २७ केन्द्रीय सदस्यले हस्ताक्षर गरेर ‘पार्टी विधानसम्मत सञ्चालन गरी १४ औं महाधिवेशन स्वच्छ, निष्पक्ष गर्ने वातावरण सृजना गरियोस्’ भनेर दर्ता गरेको विरोध पत्रमाथि छलफल हुनेछ।

कांग्रेसका सहमहामन्त्री डा।प्रकाशशरण महतका अनुसार आज बस्ने बैठकमा पौडेल समूहले बुझाएको पत्रका विषयसँगै महाधिवेशनका विषयमा केन्द्रीय समितिमा छलफल गर्ने एजेण्डा तय गर्न र कोरोना महामारी नियन्त्रणमा सरकारलाई आगामी दिनमा कसरी खबरदारी गर्ने भन्ने रणनीति बनाउनेबारे छलफल हुनेछ।

कांग्रेसको १४ औँ महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म गर्नेगरी तोकिएको छ। यद्यपीस फागुनमा महाधिवेशन नहुने लगभग पक्का छ। कांग्रेसकै नेताहरूले फागुनमा महाधिवेशन सम्भवन नभएको बताउँदै आएका छन्। कांग्रेसले महाधिवेशन समयमै नहुनुमा कोरोना भाइरसको संक्रमणलाई कारण देखाएको छ।

नियमित कार्यकाल सकिएर अघिल्लो वर्षको फागुनबाट आगामी फागुनसम्मका लागि एक वर्षे कार्यकाल लम्ब्याएका सभापति देउवाले अब पुनस् ६ महिना कार्यकाल थप्ने तयारी थालेका छन्। कांग्रेसको विधान अनुसार देउवाले अब आगामी भदौभित्र महाधिवेशन गराउनैपर्ने व्यवस्था छ। आगामी भदौसम्म पनि महाधिवेशन नगराए देउवा नेतृत्वको कांग्रेस केन्द्रीय समिति स्वतस् खारेज हुनेछ।

उता वरिष्ठ नेता रामचन्द्र पौडेल भने कुनै पनि हालतमा फागुनमै महाधिवेशन गर्नुपर्ने अडानमा छन्। उनले १३ औँ महाधिवेशनका महाधिवेशन प्रतिनिधिहरूलाई नै कायम राखेर भएपनि महाधिवेशन गर्नुपर्ने बताउँदै आएका छन्। यता पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको साथ पाएका सभापति देउवा फागुनमा महाधिवेशन नगर्ने मनस्थितिमा छन्। सिटौलाले यस अघिदेखि नै बैशाख या जेठमा महाधिवेशन गर्नुपर्ने बताउँदै आएका हुन्‌।

देउवाले महाधिवेशन प्रभावित पार्न विभागलगायतका मनोनयन जारी राखेकोमा पौडेल पक्षका नेताले असन्तुष्टि राख्दै आएका छन्। ४७ विभागमध्ये देउवाले २० बढीमा संयोजकसहित सदस्यमा एकलौटी मनोनित गरेका थिए।

कांग्रेसमा अर्को विवादको विषय क्रियाशील सदस्यताको हो। देउवाले आफूखुसी क्रियाशील सदस्यता बाँडेको आरोप पौडेल पक्षको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *