काठमाडौं, १७ कार्तिक–नेपाली कांग्रेसको पदाधिकारी बैठकमा आगामी महाधिवेशन, पार्टीभित्र देखिएको आन्तरिक विवाद र कोरोना महामारी नियन्त्रणमा सरकारका काम–कारबाहीका विषयमा छलफल भएको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले उठाएको १६ बुँदे मागबारे छलफल गर्न सोमबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी, पूर्व पदाधिकारी र केही केन्द्रीय सदस्यको बैठकले पार्टीको आन्तरिक विवाद सुल्झाउने ठोस समझदारी बनाउन सकेन ।
पौडेल पक्षले विधान र प्रक्रिया विपरित क्रियाशिल सदस्यताको वितरण र केन्द्रीय विभागमा भएका मनोनयन उल्टाउनु पर्ने माग राखेको छ । भातृ तथा शुभेच्छुक संस्थाका अधिवेशन हुनुपर्ने, अधिवेशन नभइ महाधिवेशनमा प्रतिनिधिको व्यवस्था गर्न नहुने लगायतका माग समेत पौडेल पक्षले उठाएको छ ।
पौडेल पक्षले अन्य राजनीतिक दलबाट कांग्रेस प्रवेश गरेका नेता तथा कार्यकर्ताको समयोजनको नाममा क्रियाशिल सदस्यता दिँदा विधान र प्रक्रिया मिचेको आरोप लगाउँदै आएको छ ।
कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले बैठकमा पार्टीको आन्तरिक विवाद, महाधिवेशनको तयारी र महामारी नियन्त्रणका लागि सरकारका काम-कारबाही प्रभावकारी हुन नसकेको विषयमा छलफल भएको जानकारी दिनुभयो । पार्टीभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले राख्दै आएको असन्तुष्टि र महाधिवेशन केन्द्रित छलफल भएको उहाँले बताउनुभयो ।
पौडेल समूहले असोज १२ गते ‘पार्टी विधानसम्मत सञ्चालन गरी चौधौं महाधिवेशन स्वच्छ, निष्पक्ष गर्ने वातावरण सिर्जना गरियोस्’ भनी केन्द्रीय कार्यालयमा विरोध पत्र दर्ता गरेको थियो । यस अघि असोज १९ का लागि तय भएको केन्द्रीय कार्यसमिति बैठक अघि असोज १७ गते पनि देउवाले शीर्ष नेताहरुसँग पौडेल समूहले दर्ता गरेको विरोध पत्रका विषयमा छलफल गर्नुभएको थियो ।
असोज १९ गतेका लागि तय भएको बैठकका लागि असोज १५ गते सानेपामा गरिएको परीक्षणमा केही केन्द्रीय सदस्य, कर्मचारी र नेताको सचिवालयमा रहेका व्यक्तिहरुलाई कोरोना संक्रमण देखिएपछि बैठक सरेको थियो । पार्टीको आगामी १४औं महाधिवेशनको तयारी सन्दर्भमा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक २१ गते बोलाएको छ ।
कांग्रेसले पार्टीको १४औं महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म निर्धारण गरेर सोहीअनुसार महाधिवेशनन तालिका सार्वजनिक गरे पनि कोरोना भाइरस संक्रमणका कारण महाधिवेशन तालिका प्रभावित भइसकेको छ ।
कांग्रेस पदाधिकारी बैठक मंगलबार दिउँसो १ बजे फेरि बस्ने गरी स्थगित भएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँले बैठक १४ औं महाधिवेशनको तयारीमा केन्द्रित भएको पनि बताउनुभयो ।
बैठकमा सहभागी कांग्रेस केन्द्रीय सदस्य एनपी साउदले आइतबारको छलफल वरिष्ठ नेता पौडेलले दर्ता गराएको विरोध पत्रमा केन्द्रित भएको जानकारी दिनुभयो । उहाँका अनुसार सोमबारको बैठकमा वरिष्ठ नेता पौडेल, उपसभापति विमलेन्द्र निधि र केन्द्रीय सदस्य महेश आचार्यले आ–आप्mनो धारणा राख्नुभएको थियो ।
‘उपसभापति विमलेन्द्र निधिजीले विभिन्न दलबाट आएका नेता–कार्यकर्ताहरुको सदस्यताका बारेमा धारणा राख्नुभयो । यस्तै रामचन्द्र दाइले सदस्यता वितरणका बारेमा चासो राख्नुभयो । महेश आचार्यजीले पनि धारणा राख्नुभएको थियो,’ उहाँले भन्नुभयो ।
छलफलमा सहभागी केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सोमबारको बैठकमा कुनै ठोस सहमति नभएको बताउनुभयो । ‘हामीले राखेका असहमतिबारे संस्थापन पक्षले गम्भीर ढंगबाट लिएको देखिएन,’ उहाँले भन्नुभयो, ‘भोलि (मंगलबार) पुनः बैठक छ । हामीले केही गल्ती गरेको छैन । सबै ठीक गरेका छौं भन्ने संस्थापन पक्षको भनाइ रह्यो ।’
संस्थापन पक्षीय केन्द्रीय सदस्य साउदले पनि सोमबारको बैठकबाट कुनै ठोस सहमति नभएको बताउनुभयो । यद्यपि, मंगलबार बस्ने बैठकमा सहमति गरेर विवाद टुंगो लगाइने जानकारी दिनुभयो ।
‘पौडेल समूहले दर्ता गरेको विरोध पत्रमा बैठक केन्द्रीत भएको छ । आज कुनै निर्णय भएन । भोलि (मंगलबार) सहमति गरेर टुंगो लाग्छ,’ उहाँले भन्नुभयो ।
बैठकमा सभापति देउवा, वरिष्ठ नेता पौडेल, उपसभापतिद्वय विलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा शशांक कोइराला र पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, सहमहामन्त्री प्रकाशशरण महत, केनद्रीय सदस्यहरु गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, एनपी साउद, अर्जुननरसिंह केसी, आन्नदप्रसाद ढुंगाना, ज्ञानेन्द्रबहादुर कार्की, डा रामशरण महत, बलबहादुर केसी, रमेश लेखक, डा मिनेन्द्र रिजाल, डा चन्द्र भण्डारी, गगन थापालगायतका नेताहरु सहभागी हुनुहुन्थ्यो ।
