सुर्खेत, १९ कार्तिक–प्रहरीले ३० वर्षदेखि फरार रहेका व्यक्ति कूटपिट तथा अङ्‍गभङ्‍गसम्बन्धी मुद्दाका एक अभियुक्तलाई पक्राउ गरेको छ ।

पञ्‍चपुरी नगरपालिका २, सालकोटका मानबहादुर सुनारलाई इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतबाट खटिएको प्रहरी टोलीले मङ्‍गलबार बर्दियाको बाँसगढीबाट पक्राउ गरेको हो ।

जिल्ला अदालत सुर्खेतले २०४७ पुस २६ गते व्यक्ति कुटपिट तथा अङ्‍गभङ्‍गसम्बन्धी मुद्दामा सुनारलाई दोषी ठहर गर्दै आठ वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

सुनारका सहोदर तीन दाजुभाइ मिलेर २०४६ चैत १३ गते छिमेकी तुलाराम निउरेलाई कुटपिट गरेको मुद्दामा अदालतले उक्त फैसला गरेको थियो । घटनापछि पीडित तुलारामको बायाँ हात र खुट्टा चल्न छाडेको र शारीरिक रुपले अशक्त भएको बताइएको छ ।

मानबहादुरसहित दुईजना पक्राउ परिसकेका छन् भने एकजना अझैं फरार छन् । अदालतले घटनामा संलग्‍न तीनै दाजुभाइलाई समान सजाय सुनाएको थियो । फैसला भएकै राति सुनार दाजुभाइ गाउँबाट फरार भएका थिए ।

जिल्ला प्रहरीले फरार अभियुक्तलाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय बाबियाचौरबाट प्रहरी सहायक निरीक्षक हरि साउदको नेतृत्वमा चारजनाको टोली खटाएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले पक्राउ गरिएका अभियुक्तलाई अदालतसमक्ष पठाइएको बताए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *