काठमाडौँ, १९ कार्तिक–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा संकट गहिरिएसँगै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूह सक्रिय भएको छ । कार्यकारी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीबीच दुरी बढेसँगै ओली समूह सत्ता संकट टार्नका लागि सक्रिय भएको हो ।
मन्त्रिपरिषद् पुनः गठन, राजदूत सिफारिस र कर्णाली प्रदेशको मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाही विरुद्ध अविश्वासको प्रस्ताव राखिएपछि अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीबीचको सम्बन्ध चिसिएको छ ।
पहिलो प्रयास प्रचण्ड मिलाउने
सत्ता संकट टार्नका निम्ती प्रधानमन्त्री ओली समूहले दोहोरो प्रयासको रणनीति लिएर सक्रिय भएका छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, नेता सुबास नेम्बाङ्ग र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली अध्यक्ष प्रचण्डलाई मनाउनका निम्ती खुमलटार धाइरहेका छन् ।
खुमलटार स्रोतका अनुसार पोखरेलले प्रचण्डलाई भेटेर वरिष्ठ नेता माधव नेपाल भरपर्दो नेता नभएको भन्दै ओलीसँग मिल्न अनुरोध गरेका थिए ।
पोखरेलले भनेका थिए,‘माधव नेपाल घाती छन् । भर पर्दा नेता हैनन् । यत्रो वर्ष हामीले उहाँलाई झेल्यौँ, के-के भोग्यौँ, त्यो तपाईंलाई के थाहा छ र ?’
तर प्रचण्डले यसको प्रतिवाद गरेका थिए । भनेका थिए, ‘तपाईं यस्ता कुरा गर्दै नगर्नुस् । कर्णालीको विवाद माधव कमरेडहरुले चर्काएको होइन । बरु, मैले मेरा तीनजना मान्छेलाई फर्काउन सकिन । उहाँले आफ्ना सातैजनालाई इन्ट्याक्ट राख्नुभयो ।
कर्णालीको सरकार कसैले जोगाइदिएको हो भने त्यो माधव कमरेडले नै हो । अहिले यसरी माधव कमरेडलाई विश्वास नगर्नुस्, उहाँले दोहोरो भूमिका खेल्नुभएको छ भनेर अविश्वास सिर्जना गर्ने, स्थितिलाई भड्काउने काम नगर्नुस् ।’
स्रोतका अनुसार मुख्यमन्त्री पोखरेलको समूह फेरि पनि प्रचण्ड र ओलीलाई मिलाउने प्रयासमा जुटेका छन् ।
अर्को प्रयास पूर्व एमाले एक पार्ने
उपप्रधानमन्त्री ईश्वर पोखरेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्ग, मन्त्री भानुभक्त्त ढकाल, पूर्वमन्त्री गोकुल बाँस्कोटा, खगराज अधिकारी, महेश बस्नेत विजय सुब्बा लगायत भने वरिष्ठ नेता नेपालसँग प्रधानमन्त्री ओलीलाई मिलाएर जाने प्रयासमा छन् ।
आइतबार साँझ लाजिम्पाटस्थित एक होटलमा उपप्रधानमन्त्री पोखरेल, पूर्वमन्त्री अधिकारी, बस्नेत, केन्द्रीय सदस्य आनन्द पोखरेल लगायतका करिब १५ जना नेताहरुको भेलाको आयोजना गरिएको थियो ।
स्रोतका अनुसार भेलाले पूर्व एमालेहरु मिलेर जानुको विकल्प नभएको निष्कर्ष निकाले थिए । ओली र नेपाल मिलाउन मध्यमार्गी भूमिका खेल्न सक्रिय हुने निचोडमा उनीहरु पुगेका छन् । ।
विजय सुब्बा लगायतको एउटा पंक्तिले सोमप्रसाद पाण्डे तथा लालबाबु पण्डितहरुसँग धेरै पटक यो विषयमा कुराकानी समेत गरिसकेको छ ।
यसअघि, शंकर पोखरेल, विष्णु रिमाल, भानुभक्त ढकाल, राजन भट्टराई र सूर्य थापाको समूहले राजनीतिबाट अवकाश लिइसकेका प्रदीप नेपाललाई समेत भेटेर ओली-नेपाल मिलाउने सूत्रधार बन्न आग्रह गरेका थिए।
