दमक, १९ कार्तिक–कोरोना भाइरस संक्रमित र मृतकको संख्या बढ्न थालेपछि दमकमा पुनः आंशिक लकडाउन घोषणा गरिएको छ।

नगरपालिकाले आंशिक लकडाउन घोषणा गर्दै त्यस अवधिलाई निषेधाज्ञाको रुपमा घोषणा गर्न प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेको छ।

नगर प्रमुख रोमनाथ ओलीको अध्यक्षतामा रहेको कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धीको समन्वय समितिको बैठकले बुधबारदेखि लागु हुने गरी मंसिर ३ सम्म बेलुका ४ बजेदेखि बिहान ७ बजेसम्म पूर्णरुपमा लकडाउन गर्ने निर्णय गरेको हो।

नगरपालिकाकी प्रवक्ता तथा उपप्रमुख गीता अधिकारीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि आशिंक समय लकडाउन गर्ने निर्णय भएको जानकारी दिइन्। तोकिएको समयलाई पूर्ण रुपमा कार्यान्वयन गराइने उनको भनाइ छ।

बेलुकीको समय अनावश्यक भिडभाड हुने गरेकाले त्यसलाई रोक्न पूर्णरुपमा बजार पसल तथा हिँड्डुलमा रोक लगाइएको प्रवक्ता अधिकारीले बताइन्।

कोभिड अस्पताल तयार

दमक नगरपालिकाले कोरोना संक्रमितहरुको उपचारका लागि दमक–२ बेलडाँगीमा ३० शय्याको कोभिड अस्पताल निर्माण गरेको छ। त्यसको आवश्यक काम सकिएकाले आगामी आइतबारसम्म सञ्चालनमा ल्याउने नगरपालिकाले जनाएको छ। अस्पतालमा अक्सिजनसहितको सेवा दिइने उपप्रमुख अधिकारीले बताइन्।

१९ जनाको मृत्यु

दमक नगरपालिकामा हालसम्म ४६१ जना कोरोना संक्रमित भएका छन्। नगरपालिका स्वास्थ्य शाखाका कुवेर भट्टराईका अनुसार संक्रमितमध्ये २९४ जना संक्रमणमुक्त भइसकेका छन्। संक्रमितमध्ये १९ जनाको मृत्यु समेत भइसकेको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *