काठमाडौं, १९ कार्तिक–च्याम्पियन्स लिग फुटबलमा एटलान्टामाथि लिभरपुलले शानदार जित निकालेको छ।

मंगलबार राति लिभरपुलका जोटाले ह्याट्रिक गरेको खेलमा लिभरपुलले एटलान्टालाई ५–० गोल अन्तरले हराएको हो। त्यस्तै मोहमद सलाहा र साडियो मानेले समेत एक एक गोल गरे।

समूह डीको तीनै खेलमा योर्गेन क्लोप नेतृत्वको लिभरपुलले जित निकालेको छ। थप एक जितले लिभरपुललाई च्याम्पियन्स लिगको नकआउट चरणमा सुरक्षित गर्नेछ।

पोर्चुगलका अन्तराष्ट्रिय फरवार्ड जोटाले लगातार चौथो खेलमा लिभरपुलका लागि गोल गरेका हुन्। रोबर्टो फिर्मिन्होलाई बेन्चमा राख्दै प्रशिक्षक क्लोपले जोटालाई पहिलो रोजाइको रुपमा मैदान उतारेका थिए।

खेलको १६ औं मिनेटमा जोटाले लिभरपुललाई अग्रता दिलाएका थिए। उनले ३३ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए।

दोस्रो हाफ सुरु हुनेबित्तिकै दोस्रो मिनेटमा सलाहाले लिभरपुललाई ३–० को अग्रता दिलाए। त्यसको दुई मिनेटपछि मानेले लिभरपुलका लागि चौथो गोल गरे। ५४ औ मिनेटमा जोटाले च्याम्पियन्स लिगमा आफ्नो पहिलो ह्याट्रिक पूरा गरेका थिए।

सोही समूहको अर्को खेलमा डच क्लब अजाक्सले एफसी मिडलिजेन्डलाई २–१ गोल अन्तरले हरायो। यसै गरी गएराति नै भएको अर्को खेलमा बायर्न म्युनिखले स्लजबर्गलाई ६–२ गोल अन्तरले पराजित गरेको छ। बायर्नले स्लजबर्गलाई आधा दर्जन गोल हानेर जितेको हो।

बायर्नका लागि रोबेर्ट लेवान्डोस्कीले २ गोल गरे भने लिरोय साने, जेरोमे बोटयांग र लुकास हर्नान्डेजले एक एक गोल गरेका थिए। त्यस्तै स्लजबर्गका रासमस क्रिस्टेनसेनले एक गोल आत्मघाती गरेका थिए।

यो जितपछि समूह ए मा बायर्नले अहिलेसम्म खेलेका तीनै खेलमा जित निकाल्दै ९ अंकसहित शीर्ष स्थानमा रहेको छ। त्यस्तै स्लजबर्गको भने ३ खेलमा एक अंक मात्र रहेको छ।

यसै समूह गएरति एटलेटिको म्याड्रिड र लोकोमोटिभ मोक्स १–१ गोलको बराबरीमा रोकिएका छन्। यो बराबरीपछि एट्लेटिको ३ खेलमा ४ अंकसहित दोस्रो स्थानमा र लोकोमोटिभ ३ खेलमा २ अंकसहित तेस्रो स्थानमा छ।

त्यस्तै आज बिहान भएको अर्को खेलमा रियल म्याड्रिडले इन्टर मिलानलाई ३–१ गोल अन्तरले हराएको छ। रियलका लागि करिम बेन्जेमाले २५ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसको ८ मिनेटपछि कप्तान सर्जियो रामोसले हेडमार्फत उत्कृष्ट गोल गर्दै रियललाई २–० ले बढाए।

तर ३५ मिनेटमा लौटरो मार्टिनेजले उत्कृष्ट फिनिसिङ गर्दै खेल २–१ को अवस्थामा पुर्‍याए। ६८ मिनेटमा इभान प्रेसिकले गोल गर्दै खेल बराबरीमा ल्याए पनि ८० मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई जित दिलाए।

योसँगै रियल म्याड्रिडले जारी च्याम्पियन्स लिगमा जितको खाता खोलेको छ। अघिल्लो एक खेलमा पराजय र एक खेलमा हार बेहोरेको उसको जम्मा चार अंक भएको छ। मिलान भने अझै जितविहीन छ। अघिल्ला २ खेलमा बरारबरी खेलेको उसको मात्र २ अंक छ।

त्यस्तै अर्को खेलमा पोर्टोले मर्सेलीलाई ३–० ले हराएको छ भने आयाक्सले मिड्जिल्यान्डलाई २–१ गोलअन्तरले पाखा लगायो। रियल म्याड्रिडलाई पहिलो खेलमा हराएर सनसनीपूर्ण सुरुवात गरेको युक्रेनी फुटबल क्लब साख्तर डोनेस्टेक भने मोन्चेनग्लाडब्याटसँग लज्जास्पद ०–६ गोल अन्तरले स्तब्ध भयो।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *