काठमाडौं, १९ कार्तिक–हिजोआज कञ्चनपुरको त्रिनगर गौरीफन्टा नाकामा भारत जानेहरुको लामो लाइन देखिन्छ । दसैंअघि यही नाकामा दसैं मनाउनका लागि स्वदेश फर्किनेहरुको चहलपहल थियो । दसैं सकिए लगत्तै रोजगारीका लागि फेरि भारत जानेहरुको घुइँचो बढ्न थालको छ ।
कञ्चनपुरको त्रिनगर गौरीफन्टा नाकामा रोजगारीका लागि भारत जानेहरुको भिड लाग्ने गरेको छ । चाडपर्व मनाउन स्वदेश आएका मानिसहरु दसैं सकिए लगत्तै फेरि रोजगारीका लागि भारत फर्किएका हुन् । दसैं सकिएर तिहार आउनै लाग्दा भारत जानु रहर नभइ बाध्यता भइरहेको उनीहरुले बताएका छन् ।
देशभित्रै काम नपाउने भएपछि दुई चार पैसा कमाउन र परिवारको लालनपालनकै लागि भारत जानुपर्ने बाध्यता रहेको पनि उनीहरुले बताए ।
कोरोना संक्रमणका कारण स्वदेश फर्किएकाहरु पनि फेरी भारत जान बाध्य भएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले कोरोनाका कारण घर फर्किएकालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने बताएको छ ।
तर देशभित्र रोजगारी पाउने अवस्था नै नभएपछि चाडपर्वको बीचमै पनि मानिसहरु रोजगारीका लागि भारत जान बाध्य छन् । देशभित्रै रोजगारीको अवसर नभएकाले चाडपर्वको प्रवाह नगरी काम खोज्न भारत जानुपरेको गुनासो पनि धेरैको छ ।
सुदूरपश्चिमका दुई नाका गड्डाचौकी र त्रिनगर गौरीफन्टा भएर मात्रै दैनिक हजारौंको संख्यामा नागरिकहरु भारत भइरहेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार कात्तिक १ गतेदेखि १६ गतेसम्म १२ हजार ७ सय ६३ नेपाली भारत प्रवेश गरेका छन् ।
जसमा २ हजार ४ सय ५० महिला र १ हजार ४०५ बालबालिका पनि छन् ।
