काठमाडौं, १९ कार्तिक–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पार्टीभित्र किचलो उत्पन्न गराएको आरोप–प्रत्यारोप चलिरहेका बेला सोही पार्टीका वरिष्ठ नेता झलनाथ खनालले भने यी सब समस्या आउनुमा प्रधानमन्त्रीको कमजोर कार्यशैलीलाई औल्याएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले पार्टीभित्रको अहिलेको समस्या अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पार्टीको निर्णय र निर्देशनलाई वेवास्ता गरेका कारण निम्तिएको बताएका छन् । उनले पार्टीभित्रको पछिल्लो समस्याको कारक पनि प्रधानमन्त्री स्वयम् भएको बताएका छन् ।

उनले पार्टीभित्रको विवादलाई पत्रपत्रिकामा छरपस्ट पारेर र नेताहरूबीच दन्त बझान गरेर समाधान नहुने बताएका छन् । पार्टी नीति र विधिमा चल्ने हुँदा सोही अनुसार नेता–कार्यकर्ता चल्दा यस्ता खालका समस्या नआउने बताउँदै भने, ‘अब पार्टी बैठकहरूले जे निर्णय गर्छन्, त्यही अनुसार अगाडि बढ्नुको विकल्प छैन ।

पार्टी कमिटीको बैठक यो बीचमा हुन सकेको छैन । चाँडोभन्दा चाँडो बैठक बस्नुपर्छ । सतहमा अहिले पनि जति पनि अन्तरविरोध देखिएको छ, तिनको समाधान खोज्नुपर्छ ।’

उनले पार्टी कमिटीले गरेका निर्णय कार्यान्वयन गर्न नसक्ने हो भने पार्टीका कुनै पदमा रहन योग्य हुन नसकिने समेत बताएका छन् । पार्टी र सरकार सञ्चालनका विषयमा विभिन्न वैठकबाट दुई अध्यक्षलाई स्पष्ट सुझावहरु दिइएको भए पनि कार्यान्वयन पक्ष कमजोर भएको बताउँदै खनालले भने, ‘अहिलेसम्म जे निर्णय भएका छन्, प्रधानमन्त्री आफैले पालन पनि गर्नु भएन र कार्यान्वयन पनि गराउनु भएन ।’

पार्टीको नीति, निर्देशनअुनसार सरकार सञ्चालन भएको भए यस्ता खालका समस्या नआउने नेता खनालले बताए । उनले भने, ‘अहिले पार्टीको मार्ग निर्देशन एकातिर, सरकार अर्कोतिर भयो । अबको सचिवालय वैठकमा बहुआयामिक छलफल गर्न सके मात्र निकास निस्किने उनले बताए ।

उनले अब दुई जना अध्यक्षको छलफल र सहमति पार्टीको सहमति बन्ने अवस्था नभएको पनि स्पष्ट पारेका छन् । उनले दुई जना अध्यक्षको सोचका आधारमा मात्रै पार्टी किमार्थ चल्न नसक्ने बताए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *