काठमाडौं, २० कार्तिक–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको विवाद झनै बढेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका अध्यक्ष दाहालले अब वार्ताकै लागि भनेर वालुवाटार नआउने बताएका हुन् ।
ओलीसँगको छलफलपछि बाहिरिएका अध्यक्ष दाहालले अब बालुवाटारमा वार्ताका लागि धाउनुको औचित्य नभएको बताएका थिए ।
दाहालसँगको कुराकानीपछि एक नेताले बाह्रखरीसँग कुरा गर्दै भने, ‘उहाँले अब वार्ताका लागि बालुवाटार छिर्दिन भन्नुभएको छ ।’ पार्टीभित्र देखिएको संकट निवारणका लागि पछिल्लो संवादहीनता तोड्दै ओली र प्रचण्ड छलफलमा बसेका थिए । तर कुनै निष्कर्ष निस्कन नसकेको एक नेताले जानकारी दिए ।
उनकाअनुसार भेटमा प्रचण्डले बुधबार ओली समूहले प्रदेश एकस्तरीय भर्चुअल बैठक राखेको विषयमा आपत्ति प्रकट गरेका थिए । आजको बैठकमा दाहालले सचिवालय बैठकको लागि आग्रह गरेको भए पनि ओलीले त्यसलाई अस्वीकार गरेका थिए ।
‘बैठक राखौं । लागेका कुरा बैठकमै भन्नुहोला भनेर उहाँले आग्रह गर्नुभएको छ तर उहाँले कुनै जवाफ दिनुभएको छैन,’ स्रोतको भनाइ छ ।
