रौतहट, २० कार्तिक–गत भदौ ३ गते भएको पुजारी हत्याकाण्ड आरोपमा पक्राउ परेका २ जना पुर्पक्षका लागि कारागार चलान भएका छन्।

पक्राउ परेका देवाही गोनाही नगरपालिका–१ करुनियाका ३६ वर्षीय नरेश पटेल र जयनारायण राउत पटेललाई जिल्ला अदालत रौतहटले बुधबार पुर्पक्षमा राखेर अनुसन्धान गर्न आदेश दिएपछि गौर कारागार चलान गरिएको हो।

माधवनारायण नगरपालिकाको वडा नम्बर २ खेसरहिया टोलस्थित हनुमान मन्दिरका पुजारीलाई गोली हानेर हत्या गरेको आरोपमा उनीहरु पक्राउ परेका थिए।हनुमान मन्दिरका ६५ वर्षीय पुजारी श्रीराम साहलाई गत भदौ ३ गते राति खाना खाइरहेको अवस्थामा कन्चटमा गोली हानेर हत्या गरिएको थियो।

खेसरहिया चोकस्थित हनुमान मन्दिरका पुजारी साहलाई गोली हानेर फरार भएका मध्ये २ जनालाई प्रहरीले भदौ १७ गते पक्राउ गरी कारबाहीको लागि अदालतमा पेस गरिएको थियो।

अदालतबाट प्रहरी नियन्त्रणमा रहेका पटेलद्वयलाई पुर्पक्षका लागि गौर कारागारमा राख्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी भरत श्रेष्ठले जानकारी दिएका छन्।

यता १४ वर्षीय बालिका सन्झा कुमारी साहको हत्या आरोपी चुनु तेली पनि बुधबार नै कारागार चलान भएका छन्। गढीमाई नगरपालिका–१ स्थायी घर भएका वृन्दावन नगरपालिका–४ बाजेको घरमा बस्दै आएकी १४ वर्षीया सन्झाको शव उखुबारीमा फेला परेको थियो।

घटनास्थलको मुचुल्का, पोस्ट मार्टम रिपोर्ट, जाहेरी दरखास्त र प्राविधिक जाँच समेतका आधारमा वृन्दावन–४ पलटुवाका ४५ वर्षीय चुनु साह तेलीलाई प्रहरीले पक्राउ गरेको थियो।

साहलाई ललाई फकाई प्रलोभनमा पारी जबरजस्ती करणी गरी हत्या गरेको आरोप उनीमाथि प्रहरीले लगाएको छ। तेलीले मृतक सन्झा कमारी साह बेहोस भएपछि थाहा पाउने डरले हातले घाँटी थिची हत्या गरेका अनुसन्धानबाट खुलेको छ।

सरकारी वकिल कार्यालय रौतहटमार्फत रौतहट जिल्ला अदालतमा पेस गरिएका तेली बुधबार जिल्ला अदालतको आदेशबाट मुद्दा पुर्पक्षका लागि गौर कारागार चलान भएका रौतहटका डिएसपी श्रेष्ठले जानकारी दिए।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *