दमक, २० कार्तिक–झापाको दमकमा कोरोनाकै कारण आजसम्म ३० जनाको मृत्यु भइसकेको छ। प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा पर्ने दमक, कमल, गौरादह, गौरीगञ्जवासी कोरोना संक्रमितको विराटनगर र धरानमा उपचार हुने गरेको छ। कतिपय सर्वसाधरण अस्पतालमा बेड नपाएर घरैमा बस्न बाध्य छन्।

दमकमा गतिलो अस्पताल नहुँदा आधारभूत सेवा पाउनबाट नै बञ्चित हुनुपरेको स्थानीय बताउँछन्। दमकमा दमक हस्पिटल, लाइफलाइन, ओम मेची, निम्स, एडभान्स, नमस्ते पब्लिक र दमक अस्पताल छन्। तर, यी अस्पतालमा कोभिडका बिरामीको उपचार कक्ष छैन।

यहाँका अस्पतालमा भेन्टिलेटर, सिटिस्क्यान, एमआरआइजस्ता सुविधा छैनन्। ती सुविधा विस्तार गर्नको लागि सरकारको ध्यान छैन।

दमक नगरका स्वास्थ्य शाखाका संयोजक कुवेरप्रसाद भट्टराईले एडभान्सले कोरोनाका बिरामीको उपचार गर्नका लागि खाली घर बहालमा खोजेको जानकारी भएको बताए। उनले दमक क्षेत्रका अस्पतालका सञ्चालकले आफ्नो पहुँचमा आउने संक्रमितको अस्पतालमा उपचार गरे पनि दमक नगरलाई जानकारी नदिएको बताए।

दमकसहित ओलीको निर्वाचन क्षेत्रमा हालसम्म कोरोनाले ३० जनाको ज्यान गइसकेको छ। दमकमा २०, गौरादहमा ५, गौरीगञ्जमा १ र कमल गाँउपालिकामा ४ जनाको कोरोनाले ज्यान गएको छ।

क्षेत्रफल र जनसंख्या हिसाबमा निकै कम रहेको कमल गाउँपालिकाले भने पाँच शैयाको कोभिड अस्पताल बनाएको छ। भदौमै सञ्चालनमा आएको उक्त अस्पतालमा आइसियू बेड छैन।

‘एक जना एमबिबिएस र दुई जना स्टाफ नर्सले अस्पताल चलाइरहेका छन्, अक्सिजनसम्म दिन सकिन्छ, अलि साह्रै परेका बिरामीलाई हामी अन्यत्रका अस्पताल पठाइदिन्छौं,’ अध्यक्ष मेनुका काफ्लेले भनिन्।

दमक नगरपालिकाले ३० शैयाको कोभिड अस्पताल बनाउन थालेको एक महिना पुगेको छ। सञ्चालनमा ल्याउन सकिरहेको भने छैन।

नगरपालिकाका अनुसार दमक-२ बेलडाँगीमा कोभिड अस्पताल बनाउन थालिएको भर्खर एक महिना पुग्यो। अर्बौंका फुटकर योजनामा बजेट खन्याएको संघीय सरकारले कोभिड अस्पताल बनाउन भने सुको दिएको छैन।

‘अहिलेसम्म हाम्रै नगरपालिकाबाट छुट्टिएको १ करोड रुपैयाँ बजेट खर्च भइरहेको छ, संघीय सरकारबाट संसद विकास कोषको रकम खर्च गर्ने निर्देशनहरू छन्, तर रकम नै तोकेर आएको छैन,’ उपमेयर गीता अधिकारी भन्छिन्।

यो ३० शैयाको अस्पताल आइतबारदेखि प्रारम्भिक रूपमा सञ्चालनमा आउने उपमेयर अधिकारीले बताइन्। तर, यसको भौतिक संरचनालगायत पूरा बनिनसकेको अवस्थामा शतप्रतिशत सञ्चालनमा आउन समय लाग्ने छ।

दमकमा सुरूमा कोभिड विशेष अस्पताल बनाउने योजनै थिएन। जब, मेयर रोम ओली आफैं संक्रमित भए, त्यसपछि गत असोजमा आम्दा अस्पतालमा १५ शैया सञ्चालनमा ल्याइयो। त्यहाँ अहिले पनि पाँच शैयाको आइसियूसहितको उपचार कक्ष छ।

तर, यो पहुँच भएकाहरूलाई मात्रै हो। पहुँच नभएकाहरू कि विर्तामोडको बिएन्डसी, कि धरान वा विराटनगर जान्छन्।

अहिले बनिरहेको ३० शैयाको अस्पताल पनि पर्याप्त भने हैन। ‘पर्याप्त नभए पनि अहिले तत्कालका लागि काम दिन्छ, हामी आम्दामै पनि शैया विस्तार गर्न खोजिरहेका छौं,’ अधिकारी भन्छिन्।

दमकमा कोभिड अस्पताल बनाउन किन ढिलोरु प्रश्नमा उनी भन्छिन्, ‘कोभिड विशेष अस्पताल बनाउन आवश्यक पर्ने पूर्वाधार जुटाउन समय लाग्ने रहेछ, चाडवाड, दसैं गर्दागर्दै केही ढिलो हुन गयो।’

दमकको झन्डै दुई लाख जनसंख्याका लागि भरपर्दा अस्पताल नभएर विराटनगर र धरान जानुपरेको डाक्टरहरू बताउँछन्। दमकमा सिटिस्क्यान र एमआरआई हुँदैन। आम्दा र लाइफलाइनमा दुई(दुई शैयाका भेन्टिलेटर बेड छन्।

‘यहाँका ७० प्रतिशत मानिस सिटिस्क्यान र एमआरआई गर्न धरान, विराटनगर जान्छन्,’ आम्दाकै डाक्टर नवीन ढकाल भन्छन्, ‘दमकमा प्रसूतिका लागि राम्रो उपचार छ, अनय सुविधा चाहिँ छैनन्।’

दमकमा सरकारी अस्पताल एउटा छ । १५ शैयाको उक्त अस्पताल विस्तार गरेर ५० बेड बनाउने योजना भने छ। तर, बेलैमा स्तरोन्नति भएको भए कोरोना महामारीका बेला अस्पताल प्रयोग गर्न सकिन्थ्यो।

प्रधामन्त्री ओलीले गृहनगर दमकमा भ्यू टावर निर्माण गर्न आफ्नै बुताले १ अर्ब ३८ करोड १८ लाख रुपैयाँ भित्र्याए।

ओलीको निर्वाचन क्षेत्रमा चीन-नेपाल इन्ड्रस्टियल पार्कका लागि जग्गा अधिग्रहण सकेर मुआब्जा वितरणको काम भइरहेको छ। पार्क बनाउनका लागि ९ सय ४२ बिगाहा जग्गा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिडेटका नाममा ल्याइएको छ।

दमकमा सभागृह निर्माण हुँदैछ। दमकमा डेढ अर्ब बढी लगानीमा ‘भ्यू टावर’ निर्माणको काम भइरहेको छ।

संघीय सरकारका ठूला योजना हेर्ने कार्यालय सघन सहरी तथा भवन निर्माण आयोजना झापाका अनुसार हालसम्म भ्यू टावरमा ३० करोड खर्च भइसकेको छ।

सभागृह २८ करोड ४० लाख रुपैयाँको लागतमा बनिरहेको छ। प्रारम्भमा १ अर्ब ५५ करोड रुपैयाँको लागतमा निर्माण थालिएको भ्यू टावरको लागत बढेरे विस्तृत परियोजना प्रतिवेदनमा २ अर्ब ७४ करोड लाग्ने अनुमान छ।

दमक ३ मा निर्माण हुने बुद्ध मूर्तिको डिपिआर तयार भइसकेको छ। १५ अर्ब ७५ करोडको लागतमा निर्माण हुन लागेको यो परियोजना २ सय ६५ बिगाहामा रहने छ। बुद्ध मूर्ति बन्ने भनिएको दमक-३ मा जग्गा प्राप्त भइसकेको छ।

नदी नियन्त्रणदेखि औद्योगिक क्षेत्रसँगै विश्वकै अग्लो मूर्ति बनाउने योजना उत्तरी छिमेकी देश चीनको लगानी हुँदैछ। ओलीले गृहनगर दमकमा योजनाका चाङ ल्याएका छन्।

प्रधानमन्त्री ओलीको अग्रसरतामा निर्माण गरिएका योजनामा चिनियाँ लगानी छ। त्यसमध्ये दमकमा बन्ने चाइना-नेपाल औद्योगिक क्षेत्रका लागि ६४ अर्ब लगानी स्वीकृत भइसकेको छ।

तीन खर्ब ३३ अर्बको यो योजनापछि मुलुककै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र हुने दाबी गरिएको छ।

नेकपा दमक नगरसचिव शंकर बस्नेत व्यंग्य गर्छन्, ‘ओली भक्तपुरको प्रधानमन्त्री हो, दमकको हैन, दमकको माया लाग्थ्यो भने त उहाँले अस्पताल बनाइहाल्नु हुन्थ्यो नि।’

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *