काठमाडौं, २० कार्तिक–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकपटक फेरि बिनाकुनै प्रमाण ‘वैध मत’ को गणनाका हिसाबमा आफूले राष्ट्रपति निर्वाचन जित्ने दाबी गरेका छन् ।
जर्जिया र पेनसलभेनियामा जारी पोस्टल मत गणनामा बाइडेनसँगको मतान्तर बढ्दै गएपछि दुई दिनको मौनता तोड्दै उनले कुनै प्रमाणबिना यस्तो दाबी गरेका हुन् ।
राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा पत्रकार सम्मेलन गरेर अवैध मतबाट आफ्नो पक्षमा आएको चुनावी परिणामलाई ‘चोर्ने’ प्रयास भइरहेको आरोप लगाए ।
यद्यपि, विश्लेषकहरुका अनुसार उनको दाबीमा कुनै तथ्यगत आधार नभएको बताएका छन् । राष्ट्रपति ट्रम्पले अवैध भनेका गणना भइरहेका पोस्टल मतहरु अवैध नभएका बताइएको छ ।
ती मतहरुको गणना पछि हुनुको कारण अमेरिकाका कैयौं राज्यमा सोही प्रावधान रहेको बीबीसीले जनाएको छ । अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले अमेरिकामा जारी निर्वाचनलाई राम्रोसँग सम्पन्न भइरहेको निर्वाचन भनेका छन् ।
