बीबीसी, २३ कार्तिक–भारतीय स्वास्थ्य मन्त्रालयले कोरोना महामारीबाट संक्रमित भएका ३० प्रतिशत मानिस ‘डिप्रेसन’ को शिकार भएको जनाएको छ । मन्त्रालयले कोरोना महामारीका कारण तनाव बढिरहेको अवस्था देखेर यस्तो अध्ययन गरेको हो ।
कोरोनाभाइरसको महामारीले विश्वभरका मानिसको मानसिक अवस्थामा गहिरो असर पारेको छ । स्वास्थ्य सेवामा समेत महामारीले प्रभाव पारेको छ भने मानसिक स्वास्थ्यमा समेत गम्भीर चुनौती देखा परेको छ ।
स्वास्थ्य मन्त्रालय एवम् ‘मेन्टल हेल्थ इन्स्टिच्युट अफ न्यूरोसाइन्स’ को मार्गनिर्देशनले कोभिड महामारीमा मानसिक रुपमा प्रभावित भएका व्यक्तिका बारेमा उल्लेख गरेको छ । पहिलो समूहमा ती मानिसहरु छन् जो कोभिड–१९ बाट पीडित छन् । अध्ययनका अनुसार जो कोरोना संक्रमित भएका थिए उनीहरुमा मानसिक समस्या आउन सक्छ ।
यस्तोमा ३० प्रतिशतमा डिप्रेसन र ९६ प्रतिशतमा ‘पोस्ट ट्रामेटिक स्ट्रेस’ डिसअर्डरको समस्या बढ्न सक्छ ।
दोस्रो समूहका ती बिरामीहरु छन् जो पहिलेदेखि नै कुनै मानसिक रोगबाट पीडित छन् । यस्तोमा कोरोनाका कारण उनीहरु पुरानै अवस्थामा फर्किन सक्छन् । यस्तोमा उनीहरुको अवस्था खराब मात्र नभइ मानसिक समस्याबाट समेत ग्रसित हुन सक्छन् ।
तेस्रो समूहमा ती मानिसहरु छन् जो फरक–फरक प्रकारका मानसिक समस्या भोगिरहेका छन् । जस्तै तनाव, चिन्ता, निद्राको कमी, मनमा अनौठो कुरा आउने हुन सक्छ । यस्ता व्यक्तिहरुमा आत्महत्याको सोचसमेत आउन सक्छ ।
अखिल भारतीय आयुर्विज्ञान संस्थान दिल्ली (एम्स) का मनोचिकित्सक श्रीनिवास राजकुमार भन्छन्, ‘यो अध्ययन निकै चिन्ताजनक छ । किनकि आम मानसिक बिरामीको तुलनामा यो आकडा बढी हो । तर यो तथ्याङ्क कहाँबाट लिइयो स्पष्ट छैन ।’
उनले अगाडि भनेका छन्, ‘एम्स कोभिड ट्रमा सेन्टरमा मनोचिकित्सक लगातार बिरामीसँग कुराकानी गरिरहेका छन् । अध्ययनमा भनेअनुसार नै उनीहरुमा त्यस्ता समस्या पाइएको छ ।’
उनका अनुसार कोरोनाका बिरामीमा असुरक्षाको भावना रहन्छ । कि उनीहरु आफ्नो परिवारसँग फर्किन सक्लान् कि नसक्लान् ।
निद्रा नआउने आम गुनासो हो । यो पनि देखिएको छ कि जो संक्रमित निको भएर गएका छन् उनीहरु फेरि डिप्रेशन, एन्जाइटीलगायतका समस्या बोकेर मनोचिकित्सकसँग आइरहेका छन् । यस्तो समस्या देखिनेमा २० देखि ४० वर्षका बढी छन् । निद्रामा उनीहरु आफू आईसीयुमा रहेको अनुभव गर्न थालेका छन् ।
दिल्लीकि क्लिनिकल साइकोलोजिस्ट डा पूजा शिवम् जेटलीको भनाइ छ कि कोरोनाका क्रममा मानिसको मानसिक स्वास्थ्य निकै चिन्ताको विषय बनेको छ ।
उनी भन्छिन्, ‘मसँग ५०–५० प्रतिशत यस्ता व्यक्तिहरु आएका छन् जो एक्लोपन, एन्जाइटी, एकाग्रतामा कमी महसुस गरिरहेका छन् ।’
उनका अनुसार कोरोनाका कारण अनिश्चित माहोल सिर्जना भएको छ । हरेक दिन नयाँ तथ्याङ्क आइरहेका छन् । अहिलेसम्म यसको भरपर्दो उपचार भेटिएको छैन । मानिसहरुको मनमा डर पसेको छ । डा जेटलीका अनुसार कोरोनाकालमा देखिएको मानसिक स्वास्थ्यको समस्या भविष्यमा भयावह हुन सक्छ ।
यस्तोमा सरकारसँगै समाजको पनि ठूलो भूमिका रहन्छ । समुदायका मानिसहरुले आफ्ना समस्याहरु एकअर्कासँग आदान प्रदान गर्नुपर्छ । किनकि यो एक व्यक्ति र परिवारको समस्या मात्रै होइन । बीबीसीबाट
