एजेन्सी, २४ कार्तिक–दिल्ली क्यापिटल्स आइपिएल २०२० को फाइनलमा प्रवेश गरेको छ। आइतबार भएको दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावादलाई १७ रनले पराजित गर्दै दिल्लीले फाइनलमा स्थान पक्का गरेको हो।

दिल्ली आइपिएलको फाइनलमा पहिलो पटक पुगेको हो। यसअघिका १२ संस्करणमा दिल्लीले फाइनलमा स्थान बनाउन सकेको थिएन।

अब उपाधिका लागि दिल्लीले मंगलबार मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्नेछ। साविक विजेता मुम्बईले भने पहिलो क्वालिफायरमा दिल्लीलाई नै हराएर फाइनलमा स्थान बनाएको थियो।

आइतबार अबुधाबीमा पहिले ब्याटिङ गरेको दिल्लीले ३ विकेटको क्षतिमा १८९ रन जोड्यो।

दिल्लीका लागि ओपनिङ गरेका मास्कोस स्टोइनिसले २७ बलमा ३८ रन र अर्का ओपनर शिखर धवनले सर्वाधिक ७८ रन जोडे।धवनले ५० बलमा ६ चौका र २ छक्का हिर्काए।

कप्तान श्रेयस इयरले २१ रन र शिमरन हेटमेयरले नटआउट ४२ रन जोडे। हेटमेयरले २२ बलमा ४ चौका र १ छक्का प्रहार गरे।

बलिङमा हैदरावादका सन्दीप शर्मा, जासन होल्डर र रासिद खानले १-१ विकेट लिए।

१९० रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ८ विकेट गुमाएर १७२ रन जोड्यो।

हैदरावादका लागि केन विलियमसनले ४५ बलमा ६७ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन। अब्दुल समादले ३३ रन जोड्दा अन्य ब्याट्सम्यान लगातार आउट भएका थिए।

बलिङमा दिल्लीका कागिसो रबाडाले ४ विकेट लिए। उनले ४ ओभरमा २९ रन दिए। प्लेयर अफ दि म्याच भएका मार्कोस स्टोइनिसले ३ विकेट हात पारे।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *