काठमाडौं, २५ कार्तिक–ओपनर ब्याट्सम्यान रोहित शर्मालाई अस्ट्रेलिया टुरका लागि भारतीय टिममा समावेश गरिएको छ । आईपीएलका दौरान हेमस्ट्रिंग इन्जुरी भएका कारण टोलीबाहिर रहेका उनलाई पुनः भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले समावेश गरेको हो ।
रोहितले इन्जुरीकै कारण आईपीएलका केही खेल गुमाएका थिए । तर, पछिल्ला दुई खेलमा भने उनी मुम्बई इन्डियन्सको सुरुवाती एघारमा परेका थिए । उनी दिल्लीसँग हुने आईपीएलको फाइनल खेल पनि खेल्ने पक्का छ । यसैका कारण पनि बीसीसीआईले रोहितलाई अस्ट्रेलिया टुरका लागि भारतीय टेस्ट टिममा सहभागिता गराएको हो ।
बीसीसीआई आफ्नो आधिकारिक वेबसाइटमा मेडिकल टिमले रोहितको फिटनेसमा ध्यान दिँदै भारतीय सिनियर टोली छनोट समितिलाई जानकारी दिएको बताएको छ ।
मेडिकल टिमको जानकारीअनुसार रोहितले एकदिवसीय र टी-ट्वान्टी सिरिजका दौरान आराम गर्दै फिटनेस रिकभरी गर्नेछन् । तर, उनलाई टेस्ट टोलीका भने समावेश गरेको जनाएको छ ।
कप्तान विराट कोहली बुबा बन्न लागेकाले अस्ट्रेलियासँगको पहिलो टेस्टपछि उनी भारत फर्किनेछन् । यसलाई ध्यानमा राख्दै बीसीसीआईले टोलीको मजबुतीका लागि रोहितलाई टिममा समावेश गरेको हो ।
यसअघि उनलाई तीनवटै फर्म्याटको क्रिकेट टोलीबाट बाहिर राखेको थियो । तर, पछिल्लो समय रोहित शर्मालाई भारतीय टोलीमा समावेश गर्नु बाध्यताजस्तै बनेको छ । भारतले अस्ट्रेलियासँग चार खेलको टेस्ट सिरिज खेल्नेछ ।
भारतीय टेस्ट टिम
विराट कोहली, मयंक अग्रवाल, पृथ्वी शाँ, रोहित शर्मा, चेतेश्वर पुजारा, अजिंक्य रहाणे, हनुमा विहारी, शुभमन गिल, ऋद्धिमान साह, ऋषभ पन्त, जसप्रित बुमराह, मोहम्मद शमी, उमेश यादव, नवदीप सैनी, कुलदीप यादव, रवीन्द्र जडेजा, रविश्चन्द्र आश्विन, मोहम्मद सिराज ।
