काठमाडौं, २५ कार्तिक–सरकारले कोरोना संक्रमितको उपचारमा शुल्क लाग्ने निर्णय गरेयता ४११ जना कोरोना संक्रमितको ज्यान गएको छ ।
१ कात्तिकदेखि २४ कात्तिकसम्मको अवधिमा कोरोना संक्रमित ४११ जनाको ज्यान गएको हो । सरकारले संक्रमितको निःशुल्क उपचार नहुने निर्णय गरेपछि मृत्युदर बढेको तथ्याङ्कले देखाएको छ ।
गत असोजको भन्दा कात्तिकमा ७५ जना थप संक्रमितको मृत्यु भएको छ । गत असोजमा ३ सय ३६ कोरोना संक्रमितको मृत्यु भएको थियो ।
सरकारले २ कात्तिकबाट लागू हुने गरी कोरोना संक्रमितले उपचार गर्दा सरकारी अस्पतालमा पनि शुल्क तिर्नुपर्ने निर्णय गरेको थियो । सर्वोच्च अदालतले १५ कात्तिकमा कोरोनाको उपचार निःशुल्क गर्न आदेश दिएको थियो ।
आदेश पुनरावलोकनको माग गर्दै सरकार पुनः सर्वोच्चमा गएको थियो । तर सर्वोच्चले सरकारको पुनरावलोकन आदेश खारेज गरेपछि सरकार संक्रमितको निःशुल्क उपचार गर्न बाध्य भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी अस्पतालमा कोभिड उपचार निःशुल्क हुने निर्णय गरेको छ ।
उपचार गर्दा शुल्क लाग्ने निर्णय सरकारले गरेपछि लक्षण भएका बिरामीसमेत होम आइसोलेसनमा बस्दा मृत्युदर बढेको विज्ञले बताएका छन् । चिकित्सकका अनुसार कतिपय संक्रमितमा सुरुवाती दिनमा लक्षण नदेखिए पनि ५ देखि १० दिनको बीचमा निमोनियाको लक्षण देखिन सक्छ ।
यस्तो अवस्थामा कतिपयमा अक्सिजनको मात्रा एक्कासी घट्ने हुन्छ । चर्को शुल्कको कारण संक्रमितहरु स्वास्थ्य समस्या आउँदा समेत अस्पताल नजाँदा मृत्युदर बढेको हो । चौतर्फी दवाव बढेपछि सरकारले फेरि संक्रमितको निःशुल्क उपचार गर्ने भएको छ ।
