शिबगञ्ज, २५ कार्तिक–शिबगञ्जका स्थानीय चार जना दाताहरुले १० कठ्ठा जमिन उपलब्ध गराएपछि झापाको शिबसताक्षी नगरपालिकाको वडाँ नं ६ शिबगञ्जमा वडा कार्यालय बन्ने भएको छ ।
वडा अध्यक्ष एबम् नेपाली काँग्रेसका युवा नेता मनोज खुलाल कार्कीका अनुसार स्थानीय मनकारी दाताहरुले उपलब्ध गराएको जमिनमा वडा कार्यालय बन्ने पक्का भएको हो ।
अध्यक्ष कार्कीका अनुसार वडा कार्यालय निर्माणका लागि रु १ करोड २३ लाख बजेट समेत बिनियोजित भइसकेको छ ।
अध्यक्ष कार्कीका अनुसार वडा कार्यालय निर्माणका लागि स्थानीय सुरज राजवंशीले ६ कठ्ठा, दुर्गाप्रसाद गुरागाईले २ कठ्ठा, देउ नारायण भण्डारीले १ कठ्ठा र चन्द्रमणी पौडेलले १ कठ्ठा गरेर जम्मा १० कठ्ठा जमिन उपलब्ध गराएका हुन् । उक्त जमिनको बजार मुल्य कति पर्छ भन्ने यकिन नभएपनि अनुमानित रु १ करोड मुल्य बराबरको हुन सक्ने अध्यक्ष कार्कीले बताए ।
चार वर्षदेखी शिबगञ्जस्थित जन आर्दश माध्यमिक बिद्यालयको प्रवेशद्धार अघि भाडाको एक घरमा नगरपालिकाको ६ नं वडा कार्यालय सञ्चालनमा आइरहेको थियो ।
भाडामा कार्यालय सञ्चालनको क्रममा वडावासी नागरिकको सेवालाई सहज र प्रभावकारी बनाउन नसकेको अध्यक्ष कार्की बताउँछन् । उनले वडाको आफ्नै कार्यालय भवन नहुदाँ प्राविधिक रुपमा पनि कतिपय कार्यक्रमहरु सञ्चालन गर्न समेत कठिनाई उत्पन्न हुने गरेको बताए ।
साविकः शिबगञ्ज गाविस वडा नं १, २ र ३ जोडेर शिबसताक्षी नगरपालिकाको वडाँ नं ६ बनाइएको छ । वडामा एक बहुमुखी क्याम्पस, एक माध्यमि विद्यालय र तीन आधारभूत विद्यालयहरु छन् ।
त्यस्तै, एउटा प्राथमिक स्वास्थ्य केन्द्रसहित इलाका प्रहरी कार्यालय, राष्टिय बाणिज्य बैक लगायत दर्जनौ सहकारी र बैकहरु शिबगञ्जमा स्थापना भएको छ ।
