जीवन राजवंशी शिबसताक्षी (शिबगञ्ज), २७ कार्तिक–झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ ले शिबगञ्जमा आफ्नै भवन निर्माण कार्य सुरु गरेको छ । बर्षौदेखी भवन अभावका कारण भाडाको घरमा बसेर सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दै आईरहेको वडा कार्यालयले आफ्नै भवन निर्माण कार्य सुरु गरेको हो ।
स्थानीय सुरज राजवंशी, दुर्गाप्रसाद गुरागाईँ, देउनारायण भण्डारी, चन्द्रमणी पौडेल लगायत ४ जना दानवीर दाताले १० कठ्ठा क्षेत्रफल जमिन उपलब्ध गराएपछी वडा कार्यालय भवन निर्माणको कार्य अघि बढेको हो ।
वडा कार्यालयको १० कोठे भवन निर्माणको काम आगामी फाल्गुन महिनासम्ममा निर्माण कार्य सम्पन्न हुने गरी रु ९९ लाख १ हजार ३० लागतमा सतासी निर्माण सेवालाई निम्मा दिईएको छ ।
भवन अभावमा वडा कार्यालयका सेवा सुविधा प्रवाह लगायत वडाका विभिन्न कार्यक्रमहरु निर्माणका लागी असहज हुँदै आएको थियो ।
बिहिबार शिवसताक्षी नगरपालिकाका नगर प्रमुख चन्द्र कुमार शेर्मा, उप प्रमुख भोजकुमारी नेपाल, प्रशासकिय अधिकृत गीता राई, वडा अध्यक्ष मनोज खुलाल कार्की लगायतले सामुहिक रुपमा भवन निर्माणको शिलान्यास गर्नुभएको थियो ।
कार्यक्रममा नेकपा शिवसताक्षी नगर अध्यक्ष महेन्द्र भट्टराई, नेपाली कांग्रेश नगर अध्यक्ष पर्शुराम ढुंगाना, उद्योग बाणिज्य संघ शिबसताक्षी अध्यक्ष भोला मैनाली, रेडक्रस सोसाइटी शिबसताक्षी अध्यक्ष नारायण दाहाललगायतको उपस्थिती रहेको थियो ।
