काठमाडौं, २७ कात्तिक–अभिनेत्री मनिषा कोइरालाले ‘मनीषा कोइराला क्यान्सर एजुकेशन फन्ड’ सुरू गरेकी छन्।
फन्डको सहकार्यका लागि कोइराला र काठमाडौंको ग्लोबल कलेज इन्टरनेशनलबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।
बिहीबार आयोजित एक कार्यक्रममा कलेजका प्रिन्सिपल डा करणसिंह ठगुन्ना र अभिनेत्री कोइरालाले समझदारी पत्र साटासाट गरे।
उक्त अवसरमा कलेज परिसरमै खोलिएको फन्डको समेत उद्घाटन गरिएको थियो। फन्डको सर्वाधिकार कोइरालासँग रहने छ।
फन्डमार्फत् क्यान्सरपीडित विद्यार्थीका लागि विभिन्न शीर्षकमा छात्रवृत्ति दिइनेछ। त्यस्तो छात्रवृत्ति ‘क्यास’ तथा ‘नन-क्यास’ हुने बताइएको छ।
छात्रवृत्ति विद्यालय र क्याम्पस तहमा पढ्ने विद्यार्थीहरूलाई दिइनेछ। अहिले उक्त कलेजमा मात्र त्यस्तो छात्रवृत्ति दिइने र पछि जो जहाँ पढ्न चाहन्छ त्यहीँ पढाउने प्रिन्सिपल ठगुन्नाले बताए।
आजै फन्डका लागि पाँच लाख रुपैयाँको चेक मनीषालाई हस्तान्तरण गरिएको छ।
मनीषा आफैं क्यान्सरबाट निको भएकी थिइन्। क्यान्सर जितेपछि उनले हिल्ड भन्ने पुस्तक लखेकी छन्।
परिवारमा कसैलाई क्यान्सर भए सबै पैसा उपचारमा सकिने भएकाले बालबालिकाले पढ्न नपाउने हुँदा यस्तो फन्डको थालनी गरेको मनीषाको भनाइ छ।
‘कसैलाई क्यान्सर भए पुरा परिवारलाई असाध्यै चिन्ता हुन्छ। एकातिर एउटा रोग कसरी निको पार्ने भन्ने हुन्छ अर्काति उपचार खर्च जुटाउने भन्ने हुन्छ,’ उनले भनिन्,‘जग्गा जमिन बेचेर उपचार गर्छन्।
त्यस्तो बेलामा पीडित परिवारका आमाबुवाले बच्चालाई पढाउन सकेका हुँदैनन्। त्यस्तो बेला हामीले क्षमताअनुसार सहयोग गर्यौं भने समाजमा राम्रो प्रभाव जान्छ।’
उनले यो फन्डले क्यान्सरपछि पनि जीवन छ भन्ने आशा देखाउने बताइन्।
‘क्यान्सर भएर, उपचार गरेर निको भएपछि पनि पढेर राम्रो गर्नसक्छु भन्ने आश यो फन्डले दिन्छ,’ कोइरालाले भनिन्।
