काठमाडौं, २८ कार्तिक–दुई दुई अध्यक्षबीचको लामो रस्साकस्सीपछि आज (शुक्रबार) सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दैछ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाउन अध्यक्षद्वय सहमत भएपछि महासचिव विष्णु पौडेलले आजका लागि बैठक आह्वान गरेका हुन् ।

बैठकको पूर्व सन्ध्यासम्म दुवै पक्षका नेता सचिवालयमा बहुमत कायम गर्ने रणनीतिस्वरूप आन्तरिक तयारीमा जुटेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव पौडेललगायत नेतासँग छलफल गरेका छन् ।

प्रधानमन्त्री ओलीले स्थायी समिति सदस्यहरू शंकर पोखरेल, सुवास नेम्बाङलगायत आफूनिकट नेताहरूसँग पनि परामर्श गरेको जनाइएको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ खुमलटारमा सचिवालयका बहुमत नेतासँग छलफलमा जुटेका छन् ।

अध्यक्ष दाहालले वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठसँग सामूहिक रूपमा र उपाध्यक्ष वामदेव गौतमसँग अलग्गै भेट गरेका हुन् ।

दुवै पक्षले फेरि उपाध्यक्ष गौतमलाई फकाउने प्रयास जारी राखेका छन् । हाल प्रचण्ड-नेपाल समूहमा खुलेका गौतम बैठकसम्म टिममै रहन्छन् कि प्रधानमन्त्रीलाई साथ दिन पुग्छन् भन्नेमा अन्योल नै रहेको स्रोत बताउँछ ।

गौतमले विगतमा पनि अन्तिम समयमा ओलीलाई साथ दिएका थिए । त्यसकारण यसपटक बैठकमा उनले व्यक्त गर्ने धारणा नेकपाका नेता–कार्यकर्ताका लागि चासो बनेको छ ।

गौतम निकट नेताका अनुसार भने यसपटक गौतमले पार्टी विधि र पद्धतिमा केन्द्रित रहेर धारणा राख्ने छन् । उनले बिहीबार प्रचण्डसँगको भेटमा पनि आफू यस पटक दायाँ बायाँ नगर्ने प्रतिबद्धता जनाएको स्रोतले बताएको छ । तर, महासचिव पौडेलले पनि बिहीबार बिहान गौतमसँग भेट गरेकाले उनको भूमिका के होला भनेर नेकपाभित्र अझै सन्देह छ ।

सचिवालयका एक सदस्यले बैठकका एजेण्डा भने तय भइनसकेको बताए । सचिवालयमै छलफल गरी त्यहीं नै एजेण्डा तय गर्ने तयारीमा प्रचण्ड–नेपाल पक्ष देखिएको छ । दुवै पक्षबीच स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयन, कर्णालीको पार्टी विवाद, भारतीय गुप्तचर प्रमुखसँग प्रधानमन्त्रीको भेटलगायत विषयमा चर्काचर्की पर्न सक्ने देखिएको छ ।

प्रचण्ड–नेपाल पक्ष स्थायी समिति बैठक बोलाउन दबाब बढाउने गरी अगाडि जान खोजेको स्रोतले बताएको छ । ओली पक्षले भने सकभर विषयलाई समझदारीका साथ सचिवालयमै नै टुंग्याउने रणनीति बनाएको छ ।

नेकपा अध्यक्ष दाहालसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठसहितको बहुमत सचिवालय सदस्यहरूले बैठक माग गर्दै आएका थिए ।

गत २२ कातिकमा लिखित रूपमै बहुमत सचिवालय सदस्यहरूले बैठकका लागि प्रधानमन्त्री ओलीलाई आग्रह गर्दा उनले अस्वीकार गरेका थिए । त्यसपछि २५ कात्तिकमा अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीलाई भेटेरै बैठकका लागि पुनः आग्रह गर्दा समेत ओलीले अस्वीकार गरेका थिए ।

आजको वैठकमा ओली र प्रचण्ड–नेपाल समूह एकअर्काविरुद्ध खरो उत्रने रणनीतिमा रहेको स्रोतले जानकारी दिएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *