काठमाडौं, २८ कार्तिक–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक आज बस्दैछ।

पार्टी केन्द्रिय कार्यालय सानेपामा दिउँसो एक बजे बस्ने बैठकमा पार्टीको आगामी १४ औ महाधिवेशन र पार्टीको आन्तरिक विवादका विषयमा छलफल हुने पार्टी संसदीय दलकी सचेतक पुष्पा भूषालले जानकारी दिइन्।

महाधिवेशन नजिकिँदै गर्दा सभापति शेरबहादुर देउवा एकलौटी ढंगले अघि बढेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरुले असन्तुष्टि जनाएका छन्। आगामी फागुनमा पार्टीको महाधिवेशन गर्ने भनिएपनि कोरोना भाइरसको संक्रमण र जोखिमका कारण केहि पर धकेलिन सक्ने कांग्रेसले जनाएको छ।

आजको बैठकले महाधिवेशनको नयाँ मिति तोक्ने अनुमान गरिएको छ। पार्टीमा मनोमानी बढेको भन्दै वरिष्ठ नेता पौडेलसहितका २७ जना केन्द्रिय सदस्यले देउवाविरुद्ध लिखित रुपमै विरोध जनाएका छन्। विरोधपत्रबारे सभापतिले उचित सम्बोधन नगरेको भन्दै आजको बैठकमा यहि विषय बुलन्द रुपमा उठाउने पौडेल पक्षका नेताहरुले तयारी गरेका छन्।

केन्द्रिय समिति बैठक नै धकेलेर केहि दिन अघि संस्थापन र इतर पक्ष बीचको असहमतिबारे छलफल भएपनि सभापति देउवाले अडान नछाडेको पौडेल समूहका नेताहरुले बताएका छन्।

पौडेल पक्षले सभापति देउवाले एकलौटी ढंगले विभाग विस्तार गरेको, विधान मिचेको, महाधिवेशन टार्न खोजेको लगायतको आरोप लगाउँदै आएको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *