काठमाडौं, २८ कार्तिक–नेपाली कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेर पार्टी प्रवेश गरेका नेता सुनिलबहादुर थापालाई सहमहामन्त्रीमा समायोजन गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले थापालाई सहमहामन्त्रीमा समायोजन गर्ने निर्णय गरेको हो ।
बैठकले राप्रपा परित्याग गरेका रामप्रसाद भट्टराई (मोरङ), विष्णुविक्रम थापा (सिन्धुपाल्चोक), बाबुराम बस्नेत (भोजपुर), बृजलाल यादव (बारा), किरण गिरी (काठमाडौं) लाई केन्द्रीय सदस्यमा समायोजन गर्ने निर्णय गरेको छ ।
यस्तै, टीएन योगी (ललितपुर), दिलिप राई (झापा) आशाराम चौधरी (कैलाली) र राजेशबहादुर सिंह (कपिलवस्तु) लाई आमन्त्रित केन्द्रीय सदस्य मनोनित गर्ने भएको छ ।
उनीहरुलाई विधान २०१७ (संशोधनसहित) को धारा (४) (१०) (ङ) बमोजिम केन्द्रीय कार्यसमितिमा समायोजन गर्ने निर्णय गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
गत साउन साउन १३ गते नेता थापासहित राप्रपा केन्द्रीय कार्यसमितिका १६ जना सदस्यसहित ३१ जना कांग्रेस प्रवेश गरेका थिए ।
