काठमाडौँ, २८ कात्तिक–कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्व आज सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडा कुँडा किनेर ल्याई घरमा राखिँदैछ । यसरी ल्याइएको भाँडाकुँडामा कात्तिक कृष्ण औँसीका दिन लक्ष्मीपूजा गरिन्छ ।
पूजा आरधना गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने वैदिक सनातन हिन्दू धार्मिक विश्वास छ । धनतेरसका दिन सुन चाँदीको गहना किनेर ल्याउने प्रचलन समेत छ ।
भाण्ड त्रयोदशी समेत भनिने आजका दिन नयाँ भाँडा किनेमा लक्ष्मीले सधैँ घरमा बास गर्छिन् भन्ने धार्मिक विश्वास छ । यस विश्वासका आधारमा भाँडा पसलमा ग्राहकको भीड लाग्छ ।
भाँडा पसलमा एक साताअघिदेखि नै तामा, पित्तल लगायत धातुका भाँडा आकर्षक रुपमा साज सज्जा गरी राखिएको छ । यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण विगत वर्षमा जस्तो भाँडाको व्यापार नभएको चावहिलमा भाँडा पसल सञ्चालन गर्दै आएका रामबहादुर श्रेष्ठले बताए।
यमपञ्चकको पहिलो दिन बिहीबार साँझदेखि यमराजलाई प्रसन्न बनाउन घरमा परिवार सङ्ख्या अनुसार यमदीप दान शुरु भएको छ । यसरी दीप दान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।
मनाइयो काग तिहार
साँझको समयमा कात्तिक कृष्ण त्रयोदशी भएका दिनदेखि यमदीप दान शुरु गर्नुपर्ने भएकाले बिहीबार साँझदेखि शुरु भएको समितिले जनाएको छ । सूर्योदय कालमा त्रयोदशी भएका दिन गर्नुपर्ने काग पूजा भने आज बिहान मीठा परिकार खान दिएर गरिएको छ । कागलाई सन्देशवाहकका रुपमा पूजा गरी मीठा चीजबीज खान दिइन्छ ।
कागले यमदूतका रुपमा समेत काम गर्ने विश्वास गरिन्छ । घरमा काग कराएमा केही सन्देश ल्याएको मानिन्छ । काग कराउँदा शुभ बोल, शुभ बोल भन्ने प्रचलन समेत छ ।
कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिनसम्म यमपञ्चक अर्थात् तिहार पर्व मनाइन्छ । तिहारलाई नेपालीले दोस्रो ठूलो चाडका रुपमा मनाउँछन् ।
