इटहरी, २८ कार्तिक–पुर्वेली लोक गीत संगित प्रति समर्पित मोफसलमा पहिलोपटक सर्बाधिक बिधा समेटिएको रमपम पूर्वेली म्युजिक अवार्ड २०२० मा गायक तथा संगितकार जितेन राईलाई लाईफ टाईम अचिभमेण्ट अवार्ड प्रदान गरिएको छ ।

इटहरीस्थित होटल बरण्डामा आयोजित कार्यक्रममा राईलाई २५ हजार नगद राशि सहितको लाईफ टाईम अचिभमेण्ट अवार्ड प्रदान गरिएको हो ।

प्रदेश १ का उद्योग, पर्यटन, बन तथा बाताबरण मन्त्री जगदिशप्रसाद कुसियतले राईलाई लाईफ टाईम अचिभमेण्ट अवार्ड प्रदान गरेका छन् । कार्यक्रममा विभिन्न २२ बिधामा अवार्ड प्रदान गरीएको छ ।

कार्यक्रममा उत्कृष्ट नयाँ गायक, बर्षको उत्कृष्ट गीत, उत्कृष्ट भोकल कोल्याब्रेसन, उत्कृष्ट शब्द, उत्कृष्ट प्रस्तुति (पुरुष), बेस्ट पूर्वेली कमेडी गीत बेस्ट मारूनी गीत, उत्कृष्ट लिम्बु गीत, उत्कृष्ट थारु गीत लगायतका २२ बिधामा अवार्ड प्रदान गरिएको थियो ।

को हुन जीतेन राई ?

लेक बेँसी, मेलापात, उकाली ओराली, देउसी भैलो र बिभिन्न चाडपर्वमा होस या भञ्ज्याङ चौतारीहरुमा सुसेली हाल्दै कला, साहित्य, संस्कार र संस्कृतिका बखान गर्दै गाईएका भाकाहरु नै नेपाली लोक संगित हुन् । यिनै लोक संगितले हाम्रो रहनसहन, जनजीवन र संस्कृतिलाई सम्बोधन गर्छ ।

दुःख र बेदनाका भाका हुन वा खुसीका क्षण हुन यिनै गीत संगितले मानिसको जीवन बोल्छ । नेपाली जनजिवन र भाकाहरुलाई टपक्क टिपेर मौलिक बाजाहरुको धुन भर्दा त्याँहाभित्र नरमाउने को होला र ? ४० को दशकका तन्नेरी पुस्तादेखि आजका युवासम्मलाई त्यहि धुनभित्र नचाईरहेको एक मुर्धन्य ब्यत्ति हुन गायक तथा संगितकार जितेन राई ।

सुदुर पूर्वी जिल्ला पाँचथरको फलैंचा-९ बेतेनी गाउँमा २०१३ सालमा जन्मिएका राईले त्रिभुवन विश्वविद्यालय अन्र्तगत ललितकला क्याम्पसबाट बीम्युज उपाधि हासिल गरेका छन् ।

सानैदेखि गीत-संगितमा झुकाव भएका राईका भारतीय सेनामा संलग्न बुवा महोमलाल राईले बर्माको लडाइँमा घाइते भएर फर्किंदा साथै ल्याएको हार्मोनियम र आमा रनमायाले बजाउने बिनायोले संगीतमा उनलाई बेस्सरी तान्यो ।

त्यहि बाजा मार्फत संगित सिकेका उनले लोक गीत, राष्ट्रिय गीत, आधुनिक गीत, वातावरणीय गीत, मानव अधिकारवादी गीत, बाल गीत, फिल्मी गीतका अलावा राई भाषा अन्तर्गतका बान्तवा, चाम्लिङ, कुलुङ, थुलुङ, दुमी र लोहोरुङका गीत गाएका उनले वाम्बुले भाषको गीतमा संगीत समेत भरे ।

लिम्बू, तामाङ, शेर्पा, मैथिली, भोजपुरी, सतार, झाँगड लगायत दर्जनौ भाषाका गीत समेत उनले गाउन भ्याए । बिनायो, मुर्चुङ्गा, झ्याम्टा, यलम्बर बाजा, टुङ, चरी बाजा, मुरली, बाँसुरी आदि प्रयोगमा जोड दिँदै आएका उनलेढोल, मादल, च्याब्रुङ आदि तालबाजा प्रयोग गर्छन् ।

आफूलाई बढी गायक ठान्ने उनी ‘सदियौं पुस्ताले गर्व गर्ने विषय भनेको संस्कृति भएको र ‘गीत संगीत मानिसको भावना, जीवनशैली, जिउने सन्दर्भ, सभ्यताको क्रममा निर्माण, विकसित, परिस्कृत भावनाको समष्टि रूप भएको बताउँछन ।

उनको गीत संगीत प्रतिको लगाव र झुकाव समेत गज्जबको छ । लाहुरेको छोरो लाहुरे नै हुनुपर्छ भन्ने मान्यतामा गुज्रिएको समाजमा उनको झुकाव भने गीत संगित तर्फ आर्कर्षित भयो । लाहुरबाट बुबाले ल्याएको रेडियोमा स्पष्ट रुपमा रेडियो नेपाल नबजेपनि उनी त्यसको सुर थाहा पाउँथे ।

बंगाली भाषा बढी टिप्ने रेडियोमा आक्कल झुक्कल रेडियो नेपाल बज्दथ्यो । उनलाई त्यहि रेडियोमा छिरेर गीत गाउने रहर थियो । बर्षमा चाडपर्वमा २ /४ दिन मात्र धानको भात खान पाउने ठाँउमा हुर्किएका उनलाई धानको भात खाने रहर समेत उत्तिकै थियो । पछि उनको परिवार झापा बसाँई सर्यो ।

नौ दिन ढाकरमा भारी बोकेर उनी पनि झापा झरे । धानको भात खाने सपना त पुरा भयो तर गीत संगितको सपना भने अधुरै रहयो । उनी त्यसपछि धरान हुँईकिए । धरानमा गायक शम्भु राईसँग संगत भयो उनी अध्यायन सँगै ज्ञानचक्षु बिद्यालयमा पढाउन थाले ।

केही समयपछि उनी त्याँहाबाट काठमाण्डौ हानिए । उनले बि.स २०३५ सालतिरै ‘शिथिलताले’ बोलको गीत बीएफबीएसमा रेडियोमा रेकर्ड गराएर यात्रा आरम्भ गरेका थिए । उनी जितेन्द्र राईका नामले पुर्बमा परिचित समेत भईसकेका थिए ।

पञ्चायतकालमा उनी केही समय जनचेतनामुलक गी गाँउदै बिभिन्न बस्तीमा पुगे । त्यसपछि उनी पञ्चेहरुको टार्गेटमा परे । त्यसपछि उनी भागेर काठमाण्डौ पुगे । एक बर्ष उनी भुमिगत भएर बसे । आफुसँग भएको ८ सय रुपैया सकिएपछि उनले रातिराति काम समेत गर्न थाले ।

एकबर्षपछि उनले रेडियो नेपालमा गायकको लागी जागिर खुलेको थाह पाए । उनले त्याँहा पुगेर फर्म भरे र प्रतियोगितामा सहभागी भए । पञ्चेको डरले उनले जितेन राई नाम लेखाए । त्यहिँबाट हुरु भयो उनको न्वारन । उनको नाम ‘ग’ श्रेणीमा निस्कियो त्यहिबाट उनी जितेन्द्र बाट गायक जितेन राईका रुपमा परिचित भए ।

त्यसपछि रेडियो नेपालमा उनी ग, ख, क हुँदै बिशिष्ट श्रेणीको गायक बने । राईले सयौँ आफ्नै रचना, संगीतमा आफैंले गीत गाएका छन् । अन्यको रचनामा सयौं गीत गाएका छन् ।

तीमध्ये करिब चौध-पन्ध्रवटा एल्बममा समेटेका छन् । त्यसमा ‘बाबरी’, ‘मझेरी’, ‘सयपत्री’, ‘स्यामुना’, ‘जितेन’, ‘मायाको चिनो’, ‘पूर्वै धरान’, ‘नौलखा’, ‘लिमचिमबुङ’ लगायत एल्बम हुन् ।

गायक जितेनलाई ‘अरुणै तरें, तमरै तरें‘’, मालिंगो काटी नि बिनायो बाजा‘’, सलल पानी बगेर गयो‘’, ‘उराठै लाग्छ नि डाँडापारि वन‘’, ‘उडदै आयो हवाईजहाज‘’, ‘भन्ज्याङपारि यारी खोला‘’, ‘मट्टीको कसम‘’ बोलका गीत चर्चित छन् । जिन्दगीको अन्तरा मिलाउँदै गर्दा गायक तथा संगीतकार जितेन राईको ध्यान किराती मिथकतिर मोडियो । जायजेथा खर्चिएर बनाए फिल्म-‘बिनायो’ ।

कुरो २०७० सालको थियो । फिल्मको परिकल्पना, कथा, गीत,संगित, निर्माण सबै जितेन स्वयंको रह्यो । सह निर्माताका रूपमा श्रीमती शान्तिदेवी राई रहिन् । छायांकनको काम खोटाङको दुर्गम खार्मी, सोती, रूपाकोट डाँडा, रावाखोला, तापखोला, काठमाडौं र ललितपुरमा गरे ।

२०७१ मा फिल्मी बजारमा आइपुग्यो, छुट्टै स्वादको कथावस्तुमा ।त्यसपछि उहिलेका गायक जितेन राईको खोजी फिल्मी दुनियाँमा हुन थाल्यो । जबकि लोकआधुनिक गीति फाँटमा झन्डै चार दशकदेखि निरन्तर छन, जितेन ।

देशका अलावा बिदेशमा समेत प्रस्तुति पस्किएका जितेन राई नेपाली लोकगीत संगितका एक धरोहर हुन । उनी जहाँ जाँदा पनि बिनायो र मुर्चुङगा देब्रे छातीमा सिउरिन्छन । उनलाई यसो गर्दा आफुलाई हिरा र मोती बोकेको ब्यापारी भन्दा सम्पन्न लाग्छ ।

४० को दशकका युवापुस्ताले अत्याधिक रुचाएका र उनको गीत गाँउदै हुर्किएका युवालाई अहिलेपनि उनको गीतले नचाउँछ । गोठाला जाँदा,बिहे कार्जे गर्दा होस या हाटबजार भर्दा होस लोकलयलाई टपप्क टिपेर प्राण भर्न सिपालु उनी लोक संगितका अमुल्य निधि हुन् ।

सस्तो लोकप्रियता,चर्चा परिचर्चा नरुचाउने उनी घमण्ड पटक्कै गर्दैनन ।गीत संगितलाई मनोरञ्जनका रुपमामात्र हरिनु नहुने उनको तर्क छ ।

कलाकार गहना होईन,राष्ट्रको अंग हो । राष्ट्र बाँच्न, कला साहित्य र संगित बाँच्नुपर्छ । मौलिक संस्कार र संस्कृति नष्ट हुँदै गएकोमा उनको चिन्ता छ । राज्यको उपल्लो निकायमा पुगेका मानिसहरु गीत संगितप्रति सकरात्मक नदेखिँदा उनको चित्त दुखेको छ ।

स्रष्टाहरुको बौद्धिक शोषण भएको प्रति उनी रोष प्रकट गर्छन । बिगत ४ दशकदेखि नेपाली लोक गीत, संगितको क्षेत्रमा साधानारत मुर्धन्य ब्यत्तित्व जीतेन राईको योगदान रहेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *