काठमाडौं, २९ कार्तिक–आज कुकुर तिहार । सबै नेपालीका घर आँगनमा कुकुरलाई पूजा गरी मीठामीठा खानेकुरा खुवाउने गरिन्छ ।

आजको दिन कुकुरको पूजा नगरी खाए पाप लाग्‍ने भनाइ पनि छ । तर काठमाडौंमा एउटा यस्तो जोडी पनि छ जसले दैनिक रुपमा उपत्यककाका विभिन्न ठाउँमा पुगेर सडकमा बस्ने कुकुरहरुलाई खाना खुवाउने काम गर्छन् । त्यो पनि आफ्नै खर्चमा ।

कुकुर आज्ञाकारी, रक्षक र गुनिलो जनावर हो । भैरवको बहानसमेत रहेको कुकुरले कुनै पनि अपराधीहरुलाई सुँघेर पत्ता लगाउने काम गर्छ । त्यस्तै विनाशकारी प्राकृतिक प्रकोप तथा दैवी विपत्ति हुनुअघि कुकुरले सुँघेर वा भुकेर पूर्वसूचना समेत दिनेगर्छ । त्यसैले प्रत्येक वर्षको कृष्ण चतुर्दशीको दिन कुकुरको विशेष पूजा गर्ने गरिन्छ ।

यस दिन कुकुरलाई पूजा गरी विशेष प्रकारका खानेकुरा खान दिने चलन पनि छ । यस दिन आफ्नो घरमा पालिएका कुकुरबाहेक सडकमा बस्ने कुकुरहरुको समेत पूजा गरिन्छ ।

आजको दिनमा कुकुरलाई मीठा खानेकुरा खुवाइन्छ । अन्य दिनमा भने सडक कुकुरका लागि मानिसहरुले खासै महत्त्व दिँदैनन् । तर काठमाडौंमा एउटा यस्तो समूह छ जसले दैनिक रुपमा उपत्यकाका विभिन्‍न ठाउँमा पुगेर कुकुरहरुलाई खाना खुवाउने काम गर्छन् ।

सौरभ रिमाललगायतको समूहले दैनिक रुपमा कुकुरलाई खाना तयार गर्ने र विभिन्न ठाउँमा पुगेर खाना खुवाउने काम गर्छन् । काठमाडौंको टेकुस्थित फोहोरमैला व्यवस्थापन गर्ने क्षेत्र, गोंगबुस्थित नयाँ बसपार्क, भृकुटी मण्डप, कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय क्षेत्र र ललितपुरको बटुक भैरव आसपास क्षेत्रमा पुगेर उनीहरुले कुकुरलाई खाना खुवाउँदै आएका छन् ।

भोकका कारण सडक कुकुरहरुलाई मर्ने अवस्थामा देखेपछि रातोपुलस्थित डल्ले रेस्टुरेन्टमा खाना पकाई विभिन्‍न ठाउँमा पुर्‍याएर खाना खुवाउने काम दैनिक रुपमा गरिरहेको सौरभ रिमालले बताए ।

आज ९शनिबार० काठमाडौंको टेकु क्षेत्रमा पुग्दा उनीहरुले कुकुरलाई खाना खुवाउँदै गरेको भेटियो । लकडाउन सुरु भएसँगै सडकमा रहेका कुकुरहरुलाई खाना खुवाउँदै आएको सौरभ बताउँछन् । आजको दिन मात्र नभई सडकमा रहेका कुकुरहरुलाई आगामी दिनमा समेत खाना खुवाउने कामलाई निरन्तरता दिने योजना रहेको पनि उनको भनाइ छ । तिहारमा मात्र नभएर अन्य दिनमा पनि आफ्नो घरबाहिर रहेका कुकुरहरुलाई खाना खुवाउने बानी बसाल्न उनको आग्रह छ ।

अन्य ठाउँबाट सहयोग जुटाएरभन्दा पनि आफ्नै खर्चमा खाना खुवाउँदै आएको सौरभ बताउँछन् । केही साथीभाइले कहिलेकाहीँ सहयोग गरे पनि अधिकांश दिन आफ्नै खर्चमा खाना तयार गर्ने गरेको उनले बताए । रातोपुलस्थित डल्ले रेस्टुरेन्टमा खाना तयार गरी विभिन्न ठाउँमा पुर्‍याएर सडक कुकुरलाई खाना खुवाउने काम उनीहरुका लागि दैनिकी बनेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *