झापा, २९ कार्तिक–​नेपाली राष्ट्रिय फुटबल टोलीमा उमेर समुहका ३ जना युवा खेलाडीले डेब्यु गरेका छन्।

एन्फा एकाडेमीका उत्पादन विकाश खवास, दर्शन गुरुङ र एरिक विष्टले सिनियर टिमबाट डेब्यु गरेका हुन्। विकासले सुरुवाती ११ मा डेब्यु गर्दा दर्शन र एरिक बेञ्चबाट मैदान प्रवेश गर्दै राष्ट्रिय टोलीबाट पहिलो खेलमा सहभागी भए।

तीनै जना खेलाडीले पहिलो पटक सिनियर राष्ट्रिय टोलीमा स्थान बनाएका थिए। मोरङको सुन्दर हरैचा–१ का बासिन्दा विकास त्रिभुवन आर्मी क्लबबाट खेल्दै आएका छन्। २०७५ सालको रेलिगेस बिनाको लिगमा उदीयमान खेलाडी घोषित भएका थिए।

विकास गत मंसिरमा सम्पन्न १३ औ दक्षिण एसियाली खेलकुद ९साग० स्वर्ण विजेता नेपाली टिमको मुख्य सदस्य समेत रहिसकेका छन्। उनी आर्मीको यू–१८ टोली हुँदै आर्मीको सिनियर टोलीसम्म पुगेका हुन्। उनले यू–१२ उमेर समूहदेखि नै एन्फा एकेडेमीबाट खेलेका हुन्।

इलामको सन्दकपुर गाउँपालिका–५ जमुनाका दर्शन बंगलादेशविरुद्ध पहिलो मैत्रीपूर्ण खेलको ६८ औं मिनेटमा रवि पासवानको स्थानमा मैदान प्रवेश गर्दै डेब्यु गरेका हुन्। उनी राष्ट्रिय टोलीमा परेको पहिलो अवसरमै डेब्यु गर्न सफल भए।

न्युरोड टिम एनआरटीबाट गत वर्षको सहिद स्मारक लिग खेलेका दर्शन उदीयमान खेलाडीसमेत घोषित भएका थिए। एनआरटीमा आबद्ध हुनुपुर्व उनले श्री भगवती क्लबबाट बी डिभिजन लिग खेलेका थिए। दर्शनले नेपालको उमेर समुहको टोलीमा फरवार्डको रुपमा खेलिसकेका छन्।

न्यरोड टिमबाटै गत वर्षको लिग खेलेका एरिक विष्टले खेलको ४२ औं मिनेटमा विक्रम लामालाई प्रतिस्थापन गर्दै सिनियर टोलीमा डेब्यु गरे। विक्रम घाइते भएपछि उनी मिडफिल्ड सम्हालन मैदान प्रवेश गरेका थिए।

एन्फा एकाडेमी यु–१६ मा परेको एरिकले एउटा पनि अन्तर्राष्ट्रिय प्रतियोगिता नखेली एकेडेमी छाडेका थिए। यु–१६ टोलीमा नपरे पनि सन् २०१७ मा यू–१८ टोलीसँग साफ च्याम्पियनसिप उपाधि जित्न भने सफल रहे।

बाँसबारी क्लबको उत्पादन एरिकले आर्मीकै यू–१८ टोलीबाट लगातार दुई पटक ललिर स्मृति यू–१८ लिग जितेका थिए। उनले न्युरोड टिमभन्दा अघि एक सिजन आर्मीको सिनियर टोलीमा समेत बिताएका थिए।

पहिलो पटक राष्ट्रिय टोलीमा समवेश भएपछि केही महिनाअघि मात्र एरिकलाई कोरोना संक्रमण भएको थियो। संक्रमणबाट मुक्त भएपछि राष्ट्रिय टोलीमा पुनः समावेश हुँदै डेब्यु गर्ने अवसर समेत उनले पाए।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *