काठमाडौं, ३ मंसिर–सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक नजिकिँदै जाँदा चलखेल सुरु भएको छ । विदेशी शक्ति केन्द्रदेखि, राष्ट्रपति विद्यादेवी भण्डारीसम्म एक साथ सक्रिय भएकी छन् ।
अध्यादेश प्रकरणका वेला एकाएक सक्रिय भएकी नेपालका लागि चिनियाँ राजदूत चिहोउ यान्छी पछिल्लो समय मौनप्रायः थिइन् । साउनमा नेकपाभित्रको विवाद उत्कर्षमा पुग्दा एकाध बाहेक अरू नेतासँग भेटघाट बढाएकी थिइनन् । यसपटक भने सक्रियता बढाएको नेकपा स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार मङ्गलबार राति राष्ट्रपति भण्डारी र राजदूत यान्छीबीच शीतल निवासमा भेटवार्ता भएको छ । राजदूत यान्छीले पार्टीभित्रको पछिल्लो विवादबारे चासो राखेको स्रोतले जानकारी दिएको छ ।
मङ्गलबारै राष्ट्रपति भण्डारीले नेकपाका अध्यक्ष प्रचण्डसँग लामो भेटवार्ता गरेकी थिइन् । करिब साँझ ६ बजेबाट सुरु भएको भेटवार्ता ८ बजे रातिसम्म चलेको थियो । राष्ट्रपति भण्डारीले प्रचण्डलाई दबाब नै दिएर केही त भनिनन् ।
तर, अहिलेको सङ्कटको निकास दुई अध्यक्षको मिलनमै रहेको उनको प्रष्ट सन्देश थियो । सचिवालयमा पेश गरेको राजनीतिक प्रस्ताव फिर्ता लिने र ओलीसँग सहकार्य गरेर जान उनले सुझाव दिएकी थिइन् । अध्यक्ष प्रचण्डले दुई घण्ठा मौन नै बसेर बिताएको स्रोतको दाबी छ ।
प्रचण्ड शीतल निवासबाट बाहिरिएलगत्तै राजदूत यान्छीको प्रवेश भएको थियो । उनले पनि झण्डै दुई घण्टा राष्ट्रपति भण्डारीसँग छलफल गरेको नेकपाका नेताहरूले बताएका छन् ।
यान्छीको बाहिरिएपछि प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास प्रवेश गरेका थिए । राष्ट्रपति र भण्डारीबीच शनिबार साँझ पनि भेटवार्ता भएको थियो । पछिल्लो सङ्कटको निकासका लागि प्रधानमन्त्री ओलीले विकल्पबारे छलफल गरेको स्रोतको जिकिर छ । बुधबारको छलफल पनि त्यसैको निरन्तरता भएको स्रोत बताउँछ ।
नेकपानिकट नेताहरूले दिएको जानकारी अनुसार अध्यादेश ल्याएर पार्टी विभाजन गर्नेमा राष्ट्रपति सहमत छैनन् । राष्ट्रपति भण्डारीले प्रचण्डलाई मनाएर अहिलेको सङ्कटबाट पार पाउनुपर्ने उपाय सुझाएको स्रोतको दाबी छ ।
पूर्वमाओवादी केन्द्रका नेताहरू पनि दुई अध्यक्ष मिलाउन दौडधुप सुरु गरेका छन् । मध्यधारका नेताहरू खासगरी यसमा सक्रिय छन् । हरिबोल गजुरेल, मणि थापा, देवेन्द्र पौडेल, टोपबहादुर रायमाझी लगायत नेताहरूले दुईतिर संवाद बढाएका छन् । प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष प्रचण्डलाई भेटेरै सुझाव दिएका छन् ।
बुधबारको बैठक के होला ?
नेकपाभित्र विवाद झाँगिँदै जाँदा बुधबारका लागि तय भएको बैठक अन्यौलपूर्ण बनेको छ । बैठक के गर्ने भन्ने विषयमा ओली पक्ष नै एकमत हुन सकेको छैन । मङ्गलबार दिनभरजसो बालुवाटारमा ओली पक्ष छलफलमा जुटेको थियो ।
छलफलमा सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल, सुवास नेम्वाङ, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङ, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल लगायत नेताहरू सहभागी थिए । उनले पनि सामूहिक निष्कर्ष दिन सकेनन् ।
सुवास नेम्वाङ लगायत नेताहरूले दुई अध्यक्षबीच सहमति गरेर मात्रै बैठक अघि बढाउन सुझाव दिए । पृथ्वी सुब्बा गुरूङले बैठकमै प्रधानमन्त्रीले आफ्ना कुरा राख्नुपर्ने र बैठक छल्न चाहेको सन्देश दिन नहुनेमा जोड दिएका थिए ।
महासचिव विष्णु पौडेलले मङ्गलबार नै खुमलटार पुगेर अध्यक्ष प्रचण्डलाई बैठक स्थगित गरेर ओलीसँग संवादमा बस्न आग्रह गरेका थिए ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलले भने बुधबारको बैठक स्थगित हुने सम्भावना रहेको बताए । मङ्गलबार मध्यरात भने, “भोलिको बैठक कसरी बस्ला र ? पार्टी अध्यक्षको प्रस्तावमाथि छलफल हुन सक्दैन । महासचिवले पनि कुनै जानकारी गराउनुभएको छैन ।”
यता बहुमत समूह कुनै हालतमा बुधबारको बैठक रोक्न नहुने अडानमा छ । पार्टीभित्रको विवाद पेचिलो बन्दै जाँदा माधव नेपालले पनि छलफललाई तीव्र बनाएका छन् ।
मङ्गलबार उनले पनि आफू पक्षका नेताहरूसँग छलफल गरे । नेता नेपालले अष्टलक्ष्मी शाक्य, योगेश भट्टराई लगायत नेताहरूसँग छलफल गरेको स्रोतको जिकिर छ ।
