काठमाडौं, ३ मंसिर–दस खेलाडीमा समेटिएको क्रोएसियामाथि पोर्चुगल विजयी भएको छ । नेसन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा पोर्चुगलले क्रोएसियामाथि ३-२ को पुनरागमन जित निकालेको हो । क्रोएसियाको घरेलु मैदानमा भएको खेलमा सुरुवाती अग्रता भने घरेलु टोलीले नै लिएको थियो । खेलको २९ औं मिनेटमा माटेओ कोभासिचले गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा १-० को अग्रता दिलाए ।
खेलको ५१ औं मिनेटमा घरेलु टोली दस खेलाडीमा समेटिएको थियो । क्रोएसियाका मार्को रोग दोहोरो पहेँलो कार्डसहित राँतो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि क्रोएसिया दस खेलाडीमा समेटिएको थियो ।
५२ औं मिनेटमा पोर्चुगलका लागि रुबेन डिआसले गोल गोल गर्दै खेल बराबरीमा ल्याए । ६० औं मिनेटमा जोआओ फिलिक्सले गोल गरे । उनले जोटाको पासमा गोल गर्दै पोर्चुगललाई २–१ को अग्रता दिलाए । ६५ औं मिनेटमा खेल पुनः बराबरीमा आयो । माटेओ कोभासिचले व्यक्तिगत दोस्रो गोल गर्दै खेल २–२ को बराबरीमा ल्याएका हुन् ।
खेलको अन्तिम मिनेटमा रुबेन डिआसले व्यक्तिगत दोस्रो गोल गरे । उनले ९० औं मिनेटमा निर्णायक गोल गर्दै पोर्चुगललाई ३–२ को जित दिलाएका हुन् । यस जितसँगै समूह चरणबाट बाहिरिएको पोर्चुगलले लिगमा सुखद अन्त्य गरेको छ ।
समूह सीमा रहेको पोर्चुगलले ६ खेलबाट १३ अंक जोड्दै समूहको दोस्रो स्थानमा रहेर लिगको अन्त्य गरेको छ । यता पराजित क्रोएसियाले भने समान खेलबाट मात्र तीन अंक जोड्दै लिगको अन्त्य गरेको छ ।
