भद्रपुर, ४ मंसिर–भद्रपुरस्थित चन्द्रगढी विमानस्थलको स्तरोन्ततिको नाममा पुनः भवन र गेट सार्ने चलखेल सुरु भएसँगै त्यसको विरोधमा यहाँका स्थानीयले चन्द्रगढी विमानस्थल सरोकार एवं संघर्ष समिति गठन गरेका छन्।

जनप्रतिनिधि तथा स्थानीय संघ–संस्था, सरोकारवाला पक्षसँग समन्वय नगरी चन्द्रगढी विमानस्थललाई क्षेत्रीयस्तरको विमानस्थल बनाउँदा अहिले रहेको टर्मिनल भवन र मुख्य प्रवेशद्वार उत्तरपट्टि सार्न खोजिएको भन्दै त्यसको विरोधमा भद्रपुरवासीले संर्घष समिति गठन गरेका हुन्।

रुद्रप्रसाद चुडालको संयोजकत्वमा १३ सदस्य संघर्ष समिति गठन गरिएको छ। यता संघर्ष समितिले टर्मिनल भवन र मुख्य प्रवेशद्वारको विषयमा ध्यानाकर्षण गराउँदै बुधबार झापा आएका पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईलाई लिखित रूपमै ज्ञापनपत्र बुझाएका छन्। समितिका संयोजक चुडालले सो ज्ञापनपत्र बाचन गर्दै मन्त्री भट्टराईलाई बुझाएका थिए।

नेपालको पूर्वीद्वारमा पर्ने जिल्लाको भद्रपुर नगरपालिका–८ स्थित चन्द्रगढी विमानस्थल २०२१ सालमा सञ्चालनमा आएको हो। घाँसे मैदानबाट उडान सुरुवात गरेका यस विमानस्थल अहिलेको अवस्थासम्म आइपुग्दा विकासे गतिविधिले फड्को मारेको छ।

करिब एक वर्षअघि विमानस्थल विस्तार गरी अन्तर्राष्ट्रिय स्तरको बनाउने भनी बिर्तामोडमा स्थानीय तथा जनप्रतिनिधिलाई जानकारी नगराई डिपीआर पेस गरी अहिलेको टर्मिनल भवन र मुख्य प्रवेशद्वार उत्तरतर्फ सार्ने डिजाइन पेस गरिएको थियो।

डिपिआरमै भवन र प्रवेशद्वार सार्ने खोजिएको डिजाइन बाहिर ल्याएसँगै त्यसको विरोधमा भद्रपुरवासी उत्रिएका थिए। स्थानीय विरोध उत्रिएपछि प्रवेशद्वार र भवन नसार्ने भनी विमानस्थलले आश्वासन दिएपछि माहौल शान्त भएको थियो।

तर, अहिले फेरि क्षेत्रीय स्तरको विमानस्थल बनाउन खोज्दा भवन र प्रवेशद्वार सार्ने भनी चलखेल सुरु भएको थाहा पाएपछि स्थानीयले संघर्ष समिति नै गठन गरेका स्थानीय किशोर कोइरालाले जानकारी दिए।

विगतदेखि दक्षिणतर्फ रहिआएको प्रवेशद्वार र टर्मिनल भवन उत्तरतर्फ सारिएको अवस्थामा यसको प्रत्यक्ष ठूलो असर भद्रपुरसहित क्षेत्र नम्बर ३ का बासिन्दालाई पर्नेछ।

‘स्थानीय तहमा विषयगत कार्यालयहरू गएसँगै अहिले नै जिल्लाको सदरमुकाम सुनसान हुने गरेको छ,’ उनले भने, ‘विमानस्थलको गेट सारिए यहाँको व्यापार व्यवसायमा असर पर्नुका साथै चन्द्रगढीको लेखनाथ चोकदेखि एसपी मोडसम्म मसानघाटको झझल्को आउने निश्चित छ।’

‘कुनै प्राविधिक कारणबिना हचुवाको भरमा स्थानीयसँग सल्लाह नै गरी भूमाफियाको दबाबमा परेर पेलेर नै लाने रणनीतिअनुसार काम भइरहेको हामी स्थानीयले महसुस गरेका छौ,’ संघर्ष समितिका संयोजक चुडालले भने, ‘हामी विकासविरोधी होइनौँ, विमानस्थलको विस्तार र विकासमा सधैँ हाम्रो साथ र सहयोग रहन्छ, तर विकासको नाममा पुस्तौँदेखि स–सानो व्यवसाय गर्दै आइरहेका ती व्यक्तिको व्यवसाय र पेटमा लात हान्ने काम भयो भने हामी आन्दोलन चर्काउने छौँ।’

यसअघि पनि विमानस्थलको स्तरोन्नतिका लागि तयार पारिएको प्रस्तावित डिपिआरमा अहिले रहेको टर्मिनल भवन र मुख्य प्रवेशद्वार उत्तरपट्टि सार्न खोजिएको विरोधमा भद्रपुर नगरपालिका–८ नम्बर वडा कार्यालयले तत्कालीन अर्थमन्त्री डा युवराज खतिवडा, जिल्ला प्रशासन कार्यालय झापा र चन्द्रगढी नागरिक उड्डयन कार्यालय भद्रपुरलाई ध्यानाकर्षण गराउँदै लिखित रूपमै ज्ञापनपत्र बुझाएका थिए।

वडाध्यक्ष गौरव सुब्बा (मनोज) को नेतृत्वमा गएको टोलीले तत्कालीन अर्थमन्त्री खतिवडालाई झापाका प्रमुख जिल्ला अधिकारी र चन्द्रगढी नागरिक उड्डयन कार्यालयका ज्ञापनपत्र बुझाएका थिए।

त्यस्तै झापा उद्योग संघ र झापा उद्योग वाणिज्य संघ भद्रपुरले यसअघि झापा आएका पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई सोही विषयमा ज्ञापनपत्र बुझाइसकेका छन्।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *