शिबगञ्ज, ४ मंसिर–दक्षिणी झापाको मुख्य व्यापारिक बजारहरुबीच कृषि उपज र बजारीकरणको पहिचानले स्थापित शिबगञ्जमा १५ वेड क्षमतासहितको अस्पताल निर्माण हुने भएको छ । शिबसताक्षी–६ शिबगञ्जस्थित शिवगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्दै १५ वेड क्षमतासहितको अस्पताल गरिने भएको वडा अध्यक्ष एबम् नेपाली कांग्रेस शिबसताक्षीका युवा अध्यक्ष मनोज खुलाल कार्कीले जानकारी दिनुभएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ वेडसहितको अस्पतालमा रुपान्तरण गरिने भएपछि शिबगञ्ज आसपास ग्रामिण क्षेत्रका स्थानीयवासीले लाभ लिनेमा वडा अध्यक्ष कार्की आशाबादी छन् । उनका अनुसार साविक धरमपुरको दक्षिणी गाउँ, पाँचगाछी, बैगुनधुरा, माहाभारा लगायत झापा गाउँपालिकाका बासिन्दाहरुले समेत अस्पतालबाट लाभ लिन सक्ने छन् ।
झण्डै दुई बिद्या जमिनमा फैलिएको स्वास्थ्य केन्द्रलाई सुविधा सम्पन्न बनाउन र सेवालाई गुणस्तरीयसहित प्रभावकारी बनाउन आफु निरन्तर लागिपर्ने वडा अध्यक्ष कार्की बताउँछन् ।
नेपाल सरकारले रु १८ करोड उपलब्ध गराउने भएसँगै स्वास्थ्य केन्द्रको स्तरोन्नति हुने पक्का भएको हो । बहुवर्षीय योजना अन्तरगत सरकारले पहिलो चरणमा तीन करोड २३ लाख रुपैयाँ निकास गरिसकेको छ । अब दुई किस्ता गरेर बाँकी रकम उपलब्ध हुनेछ ।
सो अनुदान रकम हो । एमबीबीएस चिकित्सकको दरबन्दी सहितको तीन वेडको उक्त स्वास्थ्य केन्द्र अब १५ वेडको हुनेछ ।
एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रम अन्तरगत स्तरोन्नति हुने सो केन्द्रमा थप जनशक्ति समेत उपलब्ध हुने जनाइएको छ ।
तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सरकारले बजेट निकासा सुरु गरेको वडाध्यक्ष कार्कीले बताए ।
त्यस क्षेत्रका नागरिकलाई अत्यावश्यक स्वास्थ्य सेवा स्थानीय स्तरमा नै उपलब्ध गराउने योजना अन्तरगत स्वास्थ्य केन्द्रको स्तरोन्नति गरिने लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
वडाध्यक्ष कार्कीले बजेट निकासाका लागि सर्वपक्षीय सहयोग मिलेको भन्दै स्तरोन्नतिले स्थानीय तहमा नै स्वास्थ्य सेवाको आधार खडा भएको बताए ।
