दुधे, ५ मंसिर–संघीय सरकारले देशभरका भूमिहीन र अव्यवस्थित बसोबास गर्नेलाई लालपुर्जा वितरण गर्नेगरी तयार गरेको भुमी सम्बन्धी समस्या समाधान आयोगले स्थानीय तहमा आवश्यक प्रकृया सुरु गरेको छ । आयोगले पहिलो चरणमा झापाको कनकाई नगरपालिकासहित देशभरका १४ वटा स्थानीय तहमा भुमिहीन र अव्यवस्थित बसोबास गर्ने दलित र सुकुमबासीहरुको लगत संकलनका लागि आवेदन सक्कल फारम पठाएको छ ।
झापा क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य माननीय सांसद लालप्रसाद (एलपी) साँवा लिम्बूको निर्वाचन क्षेत्रमा पर्ने कनकाई नगरपालिकाले मंसिर १४ गते सुचना प्रकाशित गर्ने र ३५ दिनभित्रमा आवेदन सक्कल फारम भरेर बुझाउने तयारी गरेको छ ।
भूमि सम्बन्धी समस्या समाधान आयोगसँग कनकाई नगरपालिकाले गत कार्तिक १४ गते सम्झौता गरेको थियो । सात प्रदेशका १४ वटा स्थानीय तहमा पहिलो चरणमा लालपुर्जा वितरण गर्ने गरि आयोगले काम थालेको हो । सांसद साँवाका अनुसार प्रदेश १ भरीमा झापाको कनकाई नगरपालिका र उदयपुरको बेलका नगरपालिकाले आयोगसँग सम्झौता गरेको हो ।
भूमिहीनलाई भूमी र आवास बिहीन आवास दिने नेकपा सरकारको घोषणा अनुरुप देशभर पहिलो चरणको काम थालिएको छ । बिहीवार आयोगका सदस्य गोपाल गुरागाँई र आयोगका प्रतिनिधि जगत बहादुर देउजाले कनकाई नगरप्रमुख राजेन्द्र पोखरेललाई सक्कल आवेदन फारम हस्तान्तरण गरेका छन् । आवेदन फारम हस्तान्त्ररण कार्यक्रममा सांसद साँवको समेत उपस्थिति रहेको थियो ।
आयोग गठन र लालपुर्जा वितरणको कामलाई गति दिन केन्द्रीय तहबाट भूमिका निर्वाह गरेका सांसद् साँवाले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीका लागि आएको आवेदन फारम नगरपालिकालाई हस्तान्तरण गरेको जानकारी दिए ।
सांसद् साँवाका अनुसार नेकपाले निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार लालपुर्जा वितरणको काम अघि बढाइएको हो । उनले मंसिर १४ गते नगरपालिकाले सूचना जारी गर्ने र ०७८ को असार मसान्तभित्र भूमिहीनलाई र असोजभित्र अव्यस्थित बसोवास गर्नेलाई लालपुर्जा वितरण गरिने जानकारी दिए । अधिकतम ३० कठ्ठासम्मको लालपुर्जा दिइने सांसद् साँवाको भनाई छ ।
साँवाले पहिलो चरणमा १४ पालिकाको काम सकेर ०७८ मंसिरभित्र थप १ सय पालिकामा सोहि काम सम्झौता हुने जानकारी दिए । देशभरीका १ सय पालिकामध्ये झापाको शिवसताक्षी र झापा गाउँपालिकासहित ८ वटा पालिकामा लालपुर्जाको काम गरिने बताए ।
