काठमाडौं, ७ मंसिर–प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टीभित्र देखिएको आन्तरिक विवादको जिल्ला तहसम्म देखिन थालेको छ। पछिल्लो केही महिना यताबाट क्रमबद्ध रुपमा देखिएको नेकपाको विवाद विस्तारै जिल्ला तहसम्म पुगेर छताछुल्ल हुन थालेको हो।
प्रधानमन्त्री ओली र अध्यक्ष दाहालको आन्तरिक स्वार्थको कारणले नेकपाभित्रको विवादले पार्टी फुटको संघारमा पुगेका छ। शीर्ष तहमा विवाद चुलिँदै गएपनि दोस्रो र तेस्रो तहका नेताहरु एकताको पक्षमा उभिएको भएपनि जिल्ला तहमै फरक कित्ताबीच विवादले जरो गाड्न थालेको हो।
शीर्ष तहमा गुटगत राजनीतिले गाँजेको नेकपामा केन्द्रीय सचिवालयबाट नै नेताहरु दुई धारमा बाँडिएका छन्। विवाद उत्कर्ष तर्फ केन्द्रित भइरहँदा प्रधानमन्त्री ओली अल्पमतमा देखिएका छन्। ९ जनाको सचिवालयमा प्रधानमन्त्री ओलीको पक्षमा उपप्रधानमन्त्री इश्वर पोखरेल, महासचिव बिष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा बादल छन्।
यद्यपि, गृहमन्त्री थापा अध्यक्ष दाहाल खेमाको भएपनि पछिल्लो समय प्रधानमन्त्री ओलीको कित्तामा देखिएका छन्। तर, उनले अहिलेसम्म कुन गुटमा रहेको खुलेका छैनन्।
यस्तै, अध्यक्ष दाहाल खेमाबाट सचिवालयमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीविरुद्ध मोर्चाबन्दी गरिरहेका छन्। पार्टीभित्रको विवादको क्रममा यतिबेला नेकपाभित्र लिखित रुपमा ुपत्र युद्धु चलिरहेको छ।
अध्यक्ष दाहालसहित बहुमतको सदस्यले कात्तिक २८ गतेको सचिवालय बैठकमा राखेको राजनीतिक प्रतिवेदनलाई ओली पक्षले आरोप पत्रको संज्ञा दिइरहेको छ।
पार्टी एकता बचाउका लागि अध्यक्ष दाहालले त्यो पत्र फिर्ता लिनुपर्ने माग गरिरहेका छन्। त्यसो त प्रधानमन्त्री ओलीले पनि मंसिर १३ गतेको सचिवालय बैठकमार्फत् त्यसको प्रतिउत्तर फर्काउने तयारी गरिरहेका छन्। उनले आगामि १३ गते बस्ने सचिवालय बैठकमा त्यसको प्रतिउत्तर फर्काउनेछन्। ओलीले प्रतिउत्तरपछि मात्रै पार्टीभित्रको विवाद कुन मोडमा पुग्ने निर्धारण गर्न सकिने नेताहरुको धारणा छ।
प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच देखिएको विवादको कारणले तल्लो तहमा देखिएको विवादबारे चर्चा गरौँ।
