दमक, ७ मंसिर–झापाको दमकमा आज नवौ राष्ट्रिय कर दिवस मनाइएको छ । आन्तरिक राजस्व कार्यालय दमकको आयोजनामा सम्पन्न कर दिवसमा करदातातर्फ लाइफ लाइन अस्पताल दमक र उत्कृष्ट कर्मचारीमा राजस्व कार्यालय दमकका नायव सुब्बा प्रदिप बराललाई पुरस्कृत गरिएको छ ।
आन्तरिक राजस्व कार्यालय दमकका प्रमुख कर अधिकृत डमरुप्रसाद पराजुलीको अध्यक्षतामा कार्यक्रम भएको थियो । दमक उद्योग बाणिज्य संघको भवनमा आयोजित कर दिवस कार्यक्रममा कार्यालय प्रमुख कर अधिकृत पराजुलीले कर दिवसलाई सप्ताहको रुपमा मनाइएको र आजदेखी औपचारिक रुपमा सम्पन्न गरिएको बताए । उनले राज्यको अर्थतन्त्रलाई बलियो बनाउन समयमा कर बुझाउन असल नागरिकको जिम्मेवार भएको बताए । उनले कोभिड–१९ को महामारीको चपेटामा करदाता व्यापार व्यवसायीहरुलाई परेको समस्यामा दुःख प्रकट गरे ।
कार्यक्रममा सम्मानित करदाताको तर्फबाट लाइफ लाईन अस्पताल दमकका पूर्व अध्यक्ष एबम् संस्थापक बालचन्द्र सुब्बा, कमल उद्योग बाणिज्य संघका अध्यक्ष उमानाथ भण्डारी, गौरादह उद्योग बाणिज्य संघका अध्यक्ष जीतबहादुर कार्की र दमक उद्योग बाणिज्य संघ दमकका अध्यक्ष गोकुल श्रेष्ठले आ–आफ्ना बिचारहरु राखेका थिए । कार्यक्रममा कर अधिकृत ज्ञानेन्द्र राईले स्वागत मन्तव्य राखेका थिए ।

