बीबीसी, ९ मंसिर–२०२० को अमेरिकी निर्वाचनमा विजयी भएका डेमोक्रेट पार्टीका उमेदवार जो बाइडेनलाई कार्यभार सुम्पिने तयारी सुरु गर्नुपर्ने कुरालाई ट्रम्पले स्विकारेका छन् ।

आफ्नो हारविरुद्ध लडाइँ जारी राख्ने वचन दिइरहे पनि ट्रम्पले यस विषयमा आवश्यक सबै प्रक्रिया जारी रहनुपर्ने बताएका हुन् । यसअघि ‘जेनेरल सर्भिसेस’ विभाग, जीएसएले पनि बाइडेन नै विजयी भएको स्वीकार गरेको थियो ।

मिचिगन स्टेटले उनको जितलाई आधिकारिक मान्यता दिएपछि ट्रम्पलाई सो खबरले ठूलो झट्का दिएको हो । यसरी जीएसएको घोषणापछि, राष्ट्रपति निर्वाचित भएका बाइडेनले अब सरकारी कार्यालयका सबै उच्च स्तरीय आन्तरिक बैठकहरुको पहुँच पाउने भएका छन् ।

यससँगै बाइडेनले आफ्नो प्रशानमा विभिन्न शीर्ष पदका लागि नियुक्ति पनि सुरु गरिसकेका छन् । यस विषयमा ट्रम्प प्रशासनले सहकार्य जनाउने खबरलाई बाइडेनको टोलीले अहिलेको चुनौतीपूर्ण समयमा यो निर्णय अतिआवश्यक भएको बताएको हो ।

बाइडेन आगामी जनवरी २० मा राष्ट्रपतिका रुपमा ह्वाइटहाउस प्रवेश गर्नेछन् ।

यसअघि बाइडेनले विदेश नीति र राष्ट्रिय सुरक्षा टोलीका लागि ओबामा प्रशासनमा आफूसँग काम गरेका सहकर्मीहरुलाई चयन गर्न लागेको खबर बाहिरिएको थियो । मंगलबार मात्र उनले सबै मनोनीत नियुक्तबारे आधिकारिक घोषणा गर्नेछन् ।

ट्रम्पले ट्‌विरमार्फत आफ्नो प्रशासनलाई आगामी कार्यकाल स्थानान्तरणको तयारीमा सहकार्य गर्न बताए पनि चुनावसम्बन्धी आधारहीन दाबी गर्न भने छाडेका छैनन् । उनले निर्वाचनमा धाँधली भएको र आफूले यसविरुद्ध बलियो लडाइँ लड्ने कुरा फेरि पनि दोहोर्‍याएका हुन् ।

तर उनले यस कानुनी लडाइँमा कतै सफलता हासिल गरेका छैनन् । बरु उल्टै रिपब्लिकन सिनेटरहरुबाट बढ्दो असमर्थन प्राप्त गरिरहेका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *