काठमाडौं, ११ मंसिर–सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयमा वितरण, प्रस्तुत भएको दस्तावेज आधारभूत तहका कमिटीमा पनि पुगेका छन् ।
पार्टी समर्थक, सदस्य तथा आमजनताको हातमा पनि पुगिसकेका छन् । केन्द्रीय कार्यालयका तर्फबाट छापेर तल पठाएपछि सबैतिर पुग्ने नै भयो ।
सचिवालयमा छलफल किनारा नलागिसकेको विषय तल पठाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली समूह आक्रोशित बनेको छ । नेकपाका सदस्यहरू ध्रुवीकृत बनेका छन् ।
केन्द्रीय सदस्य राजेन्द्र राईले भने दस्तावेज तल बाँडेर प्रचण्डले गर्नै पर्ने काम गरेको टिप्पणी गरेका छन् ।
‘काम नगर्नुपर्ने, परिणाम गर्नुपर्नेको जस्तो’ भन्दै उनले भनेका छन्, “विधि, पद्धतिका हिसाबले भन्ने हो भने नेकपा अध्यक्ष प्रचण्डले तल फोटोमा देखिएको दस्तावेज अहिलेको ढङ्गले तलसम्म पठाउने कुरा उचित होइन तर अन्य परिणामलाई एकातिर राखिदिने हो भने अध्यक्ष प्रचण्डको यो कामको केही परिणाम गरिनुपर्ने कामको जस्तो देखिएको वा हुनेवाला छ ।”
अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले धेरै पटक यस्ता गर्न नहुने काम गरेर ‘सक्छौ भने देखाऊ वा कमरेड केपीले जे गरे पनि अरू कसैले केही गर्न सक्दैन, अरू सबै पानी मरुवा हुन्’ जस्तो सन्देश दिएको उनको किटान छ ।
दस्तावेज प्रकरणपछि केही हदसम्म कुरा उल्टिन गएको, प्रश्न केपी कमरेडतिर तेर्सिन गएको राईको भनाइ छ ।
“सक्ने भए केपी कमरेडलेचाहिँ देखाए हुन्छ र निश्चय पनि, तत्काल यसलाई काउन्टर दिन सक्ने खालको केही गरिहाल्ने, देखाइहाल्ने विकल्प केपी कमरेडसँग देखिँदैन, यसको मतलब, सहनु, टुलुटुलु हेर्नु र उहाँको भाषामा खाँबो चिथर्नु बाहेक उहाँसँग अर्को विकल्प र बाटो छैन ।”
दस्तावेज सामान्यजस्तो देखिए पनि नेकपाको जीवनमा यस कुराको निकै ठूलो अर्थ रहने उनको भनाइ छ ।
“यति भन्दा उपयुक्त नै होला यस विषयले कम्तीमा यति कुरा दुनियाँलाई स्पष्ट हुनेछ, ‘कोही बहादुर, कोही पानी मरुवा’ भन्ने कुरा पोजिसन, परिस्थिति, जिम्मेवार, गैरजिम्मेवारपूर्ण सोचाई, व्यवहार आदिमा भर गर्ने कुरा हो,” उनी भन्छन् ।
ओली र उहाँका समर्थक, पक्षधरले नेकपा विवाद पदको, कुर्सीको भन्ने भ्रम पार्न कोसिस गरिरहेको र त्यसमा सफल पनि भएको राईको बुझाइ छ ।
“यो दस्तावेजले विवाद पद र कुर्सीको भन्दा अरू नै केही रहेछ भन्ने कुरा धेरै हदसम्म स्पस्ट पार्न सफल भएको छ वा हुनेछ, यसको पनि साधारण अर्थ, महत्त्व रहने छैन,” उनले सामाजिक सञ्जालमा भनेका छन् ।
