माइधार (शिबसताक्षी), ११ मंसिर–झापाको शिवसताक्षी १० माइधारस्थित रहेको माइधाम व्यापारी बचत तथा ऋण सहकारी संस्थाको १२ औँ साधारण सभा सम्पन्न भएको छ ।
सभाको उद्घाटन शिवसताक्षी नगरपालिका वडा नं १० का वडा अध्यक्ष कर्णबहादुर थापाले गर्नुभएको थियो ।
साधारण सभाका प्रमुख अतिथि समेत रहेका थापाले यस अगाडी संस्था व्यापारीहरुको मात्र रहेको आभाष हुँदै आएकोमा यस अधिवेशनले आफ्नो सेवा क्षेत्रभित्रका सबै नागरिकलाई सस्यता खुल्ला गरेकोमा धन्यवाद ज्ञापन गरेका छन् । उनले यस क्षेत्रमा व्यापार व्यवसाय गर्न तथा अन्य कार्य गर्न संस्थाको सदस्य बनेर पाउने योजना आएपछि अन्य क्षेत्रमा गएर ऋण लिनु नपर्ने बताएका छन् ।
त्यस्तै कार्यक्रममा आपटारी कृषि सहकारी संस्था लिका अध्यक्ष उमानाथ पराजुलीले लामो समयदेखि आफूहरुले भन्दै गरेको कार्य यस पटक पुरा भएको बताउँदै सभा सफलताको शुभकामना व्यक्त गरेका थिए ।
संस्थाका अध्यक्ष पदमलाल अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा औचित्य माथि प्रकाश पार्दे लेखा समितिका सम्योजक तेजप्रकाश भट्टराईले प्रतिवेदनमा उल्लेख भएका विषयहरुमा छलफल गरी आवश्यक सुझाव र सल्लाह दिन उपस्थित सदस्यहरुलाई आग्रह गरेका छन् ।
अधिवेशनमा संस्थाका अध्यक्षद्धारा प्रस्तुत प्रतिवेदन अनुसार हाल ४ सय ६ जना सदस्यहरु रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । संस्थाको कुल शेयर रकम १ करोड ८० लाख ३८ हजार ३ सय रहेको छ भने निक्षेपतर्फ ३ करोड १३ लाख १५ हजार ९ सय ३२ रुपैयाँ २२ पैसा रहेको छ भने संस्थाको जगेडा कोषमा २१ लाख १८ हजार ४ सय ८३ रुपैयाँ ६० पैसा रहेको साथै संस्थाले आव ०७६÷०७७ मा ३ करोड ८८ लाख ७८ हजार ५ सय ५८ रुपैयाँ लगानी गरेको अध्यक्षको प्रतिवेदनमा प्रस्तुत गरिएको छ ।
संस्थाका सचिव डम्बरकुमार तिम्सिनाले सञ्चालन गरेको अधिवेशनमा ऋण उप समितिका सम्योजक तथा संस्थाका उपाध्यक्ष तुलबहादुर राईले स्वागत गरेका थिए । कार्यक्रममा असल बचतकर्ता तथा असल ऋणिहरुलाई सम्मान समेत गरिएको थियो ।
सम्मानित हुनेहरुमा असल बचतकर्तातर्फ माइधार क्षेत्रतर्फ डम्बरबहादुर मगर, दूधे क्षेत्रबाट विष्णुमाया भट्टराई, झिलझले क्षेत्रबाट सोमबहादुर तामाङ, सुरुङ्गा क्षेत्रबाट काँशीनाथ भट्टराई त्यस्तै असल ऋणितर्फ लेखराज सिटौला, मिना खड्का, सोमप्रकाश वनेम, नरेन्द्र सिटौलालाई सम्मान गरिएको थियो ।
त्यस्तै संस्थाका ज्येष्ठ पुरुष सदस्यबाट फौदराज बोहोरा, ज्येष्ठ महिला सदस्यबाट खिनमाया भट्टराई साथै संस्थाका कर्मचारीहरु मध्ये बिनिशा चापागाँई (रिजाल) लाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको थियो ।
कार्यक्रममा गैडे कृषि सहकारी संस्थाका अध्यक्ष सोमध्वज कार्की, गैडे सामुदायिक वनका अध्यक्ष अमृतबहादुर कार्की, शिवसताक्षी नगरपालिका बोर्ड सदस्य मन्दिरा पाठक, वडा सदस्य भाष्कर सिटौला, सल्लाहकार सम्योजक दिपककुमार पोख्रेल लगायत विभिन्न सहकारी संस्था लगायत अन्य संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।
