काठमाडौं, १२ मंसिर–प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सीमा विवादलगायत समस्या वार्ताको माध्यमबाट समाधान गर्नुपर्ने सन्देश पठाएका छन् ।
दुईदिने नेपालमा भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृङ्गलामार्फत प्रधानमन्त्री ओलीले यस्तो सन्देश पठाएका हुन् । बालुवाटारमा हिजो साँझ भएको भेटमा ओलीले सीमा विवादलगायत नेपाल-भारतबीच देखिएका समस्या वार्ताको माध्यमबाट समाधान गर्नुपर्ने सन्देश पठाएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिए ।
भेटमा विदेशसचिव श्रृङ्गलाले नेपाल भारत सम्बन्धलाई अगाडि बढाउन भारत सकारात्मक रहेको र समस्याहरुलाई वार्ताका माध्यमबाट सामाधान गर्न चाहेको भारतीय प्रधानमन्त्री मोदीको सन्देश ओलीलाई सुनाएका थिए । जवाफमा प्रधानमन्त्री ओलीले आफूहरुले पनि वार्ताकै माध्यमबाट समस्याहरु समाधान गर्न चाहेको बताए ।
प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराईले भने, ‘‘भारतीय विदेश सचिवले हाम्रा समस्याहरुलाई वार्ताद्वारा समाधान गर्न चाहन्छौं भन्ने भारतीय प्रधानमन्त्रीको सन्देश रहेको बताउनुभयो । त्यसै क्रममा हाम्रो प्रधानमन्त्रीले हामी पनि नेपाल-भारत सम्बन्धलाई अत्यन्त महत्त्व दिन्छौं र यो सम्बन्धलाई राम्रो बनाउन चाहन्छौं । यसलाई अझ माथिल्लो तहबाट अगाडि बढाएर लिएर जान चाहन्छौं ।
नयाँ उचाइमा पुर्याउन चाहन्छौं । त्यसका लागि हामीले हामीसित रहेका केही समस्या छन् तिनीहरुको समस्या संवादका माध्यमबाट गर्नुपर्छ सीमालगायत सबै विषयलाई दुईपक्षीय संवादका माध्यमबाट हामीले हल गरौं त्यो हल गरेर नै हामीले समस्याहरुलाई थाती राखेर होइन तिनीहरुको समाधान गर्दै अगाडि जाँदा नै नेपाल-भारत सम्बन्धले नयाँ उचाइ प्राप्त गर्छ ।’’
प्रधानमन्त्री ओलीले दुईपक्षीय भ्रमणहरुले वार्ताको वातावरण बनाउन सकारात्मक भूमिका खेल्ने पनि बताए । नेपाल सुरुबाटै वार्ताको पक्षमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ‘‘हामी सुरुदेखि वार्ताको पक्षमा छौं र अहिले पनि हाम्रो मान्यता वार्ताका माध्यमबाट हाम्रा समस्या समाधान गरौं यद्यपि यी समस्या हामी सरकारमा आइसकेपछि उत्पन्न भएका समस्यहरु होइनन् ।’’
डा। भट्टराईका अनुसार प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई पठाएको सन्देशमा भनिएको छ, ‘‘इतिहासको विभिन्न कालखण्डामा उब्जिएका समस्याहरु तिनीहरुको समाधान अहिले हामीले गरेर जान सक्दा म पनि र भारतीय प्रधानमन्त्री मोदीजी पनि नेपाल-भारत सम्बन्धलाई राम्रो बनाउने प्रतिबद्धता मान्यताबाट अगाडि निर्देशित छ । र त्यही मान्यतामा हामी सहमत छौं । त्यसो भएको हुनाले समस्याको समाधान वार्ताको माध्यमबाट गरौं ।’’
वार्ताका लागि विभिन्न संयन्त्रहरु निर्माण भए पनि बैठक बस्न नसकेको अवस्थामा प्रधानमन्त्री र विदेशसचिवको शिष्टाचार भेटमा बैठक बस्ने तय भएको उनले बताए । परराष्ट्रमन्त्री स्तरीय बैठकको मिति टुंगिएपछि बैठक बस्ने कुरा तय भएको पनि भट्टराईले बताए ।
