काठमाडौं, १३ मंसिर–चिनियाँ रक्षामन्त्री एवं पहिलो बरियताका स्टेट काउन्सिलर जनरल वेइ फेङ्गे औपचारिक भ्रमणका क्रममा भोलि (आइतबार) नेपाल आउने भएका छन् ।

परराष्ट्र मन्त्रालयले शनिबार बिहान विज्ञप्तिमार्फत् चिनियाँ रक्षामन्त्रीको भ्रमण सार्वजनिक गरेको छ । भारतीय विदेश सचिब हर्षबर्धन श्रृंगलाको दुई दिने औपचारिक भ्रमण सम्पन्न भएको पर्सीपल्ट हुन लागेको चिनियाँ रक्षामन्त्री वेईको भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

पछिल्लो समयमा दुई छिमेकी भारत र चीनबीच उनीहरुको हिमाली क्षेत्रमा टकराबको स्थिति कायम रहँदा र पछिल्लो पटक भारतबाट उच्च कूटनीतिक एवं उच्च सुरक्षा अधिकारीहरुको भ्रमण भएलगत्तै चीनबाट रक्षा मन्त्री आउनुलाई संयोगमात्र नभएको कूटनीतिक र रणनीतिक मामिला जानकारहरुको भनाई छ ।

चिनियाँ रक्षामन्त्रीले दक्षिण एशियाको भ्रमणको शुरुवात नै नेपालबाट गरेका छन् । उनी भोलि नै नेपालबाट बंगलादेश जानेछन् भने त्यहाँबाट पाकिस्तान पुगेर चीन फर्किने छन् ।

कोभिड -१९ को विश्वव्यापी महामारीपछि नेपाल आउन लागेका जनरल वेइ सबैभन्दा वरिष्ठतम चिनियाँ अधिकारी हुन् । उनले प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओली, राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने तय भएको परराष्ट मन्त्रालयले शनिबार जानकारी दिएको छ ।

रक्षामन्त्री वेई नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापनाको ६५ औं वर्षगाँठ मनाउने सिलसिलामा नेपाल भ्रमण गर्न लागेको भनिएको छ । सन् १९५५ अगस्ट १ मा नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएको थियो । उपप्रधानमन्त्री एवं निवर्तमान रक्षामन्त्री ईश्वर पोखरेलले २०७५ कात्तिकमा चीनको औपचारिक भ्रमणका क्रममा रक्षामन्त्री वेइसँग द्धिपक्षीय वार्ता गरेका थिए ।

त्यही बेला चिनियाँ रक्षामन्त्रीलाई नेपाल भ्रमणको निमन्त्रणा थियो । त्यसपछि प्रधानसेनापति पूर्णचन्द्र थापाले पनि रक्षामन्त्रीका तर्फबाट नेपाल भ्रमणका लागि स्मरण गराएका थिए । पछिल्लोपटक तत्कालीन रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा चिनियाँ रक्षामन्त्री एवं स्टेट काउन्सिलर जनरल चाङ वाङ्क्वानले २०७३ चैत १० देखि १२ सम्म नेपालको औपचारिक भ्रमण गरेका थिए ।

रक्षामन्त्री हुँदा उपप्रधानमन्त्री ईश्वर पोखरेलको चीन भ्रमणका क्रममा चिनियाँ सरकारले नेपाली सेनालाई प्रकोप व्यवस्थापनका लागि दिने घोषणा गरेको दुई अर्ब ४० करोड नेपाली रुपैयाँ ९१५ करोड चिनियाँ युयान० बराबरको सहयोग पनि यसबीचमा आएको छैन ।

यो लगायत नेपाल र चीनबीच सैन्य अभ्यासलगायत सहकार्यका बिषयमा छलफल हुने छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *